वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको हत्या आशंका, प्रहरीले घटनाको अनुसन्धान गर्दै

वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
गएराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्किएका थिए । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।
उनको टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण अझै नखुलेको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय थिए। उनले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनय गरेका छन् ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत थिए । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बे गरुँ जस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
सामाजिक सञ्जालमा कलाकार एवं शुभचिन्तक तथा प्रशंसकहरुले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।