गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ : मुख्यमन्त्री पोखरेल




नवलपुर ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकबाटै गण्डकीमा समृद्धि ल्याउन सकिने भएकाले धार्मिक प्रदेश बनाउन लागिएको बताएका हुन्।




गण्डकी प्रदेश चीन र भारतसँग जोडिएको प्रदेश भएकोले पनि ती दुवै देशबाट आउने पर्यटकलाई गण्डकी प्रदेशको धार्मिक क्षेत्रमा ल्याउन सकेमात्रै पनि प्रदेश समृद्ध बन्ने उनको भनाइ छ।

दक्षिणबाट आउने पर्यटकलाई त्रिवेणीधाम (गजेन्द्र मोक्षधाम) हुँदै दाउन्नेदेवी मन्दिर, कैलाश सन्न्यास आश्रम, मौलाकालिका, देवघाटधाम हुँदै मुक्तिनाथसम्म पुग्ने गरी धार्मिक मार्ग निर्माणको काम भइरहेको उनले बताए।

देशकै केन्द्र भागमा रहेको मौलाकालिकाको ठूलो महत्त्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटक आउँदामात्रै खासै अर्थ नराख्ने भए पनि उनीहरुलाई यहाँ एक रात बिताउने वातावरण सिर्जना गर्नसक्नु पर्ने बताए।

 

प्रदेश सरकारको बजेटले मात्रै सबै काम गर्न नसकिने उल्लेख गर्दै ठूला योजनाका लागि संघीय सरकारसमक्ष प्रस्ताव राख्नुपर्ने उनले बताए।

 



सम्बन्धित
Loading...