शिवराजमा मानाईयाे अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
महिलाहरू आफ्नै घरबाट असुरक्षित : उपाध्यक्ष केसी
राम अवतार चाैधरी
कपिलवस्तु, 
उद्योग व्यावसायिक केन्द्रीय उपाध्यक्ष गीता अञ्जान केसीले महिलाहरु आफ्नै घरमा असुरक्षित रहेकाे बताएकी छन् । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा साेमबार आयाेजित अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै केसीले यस्ताे बताएकी हुन् ।
आँगनमा बसेर आफ्नाे छाेरीकाे बिर्को बन्द गर्न नसक्ने अरुकाे छाेरालाई दाेष लगाउने पुरुष प्रदान समाजमा आफू हुर्केकाे समेत उनले बताइन् । पुरुषहरू जता जहिले पनि खुल्लम खुल्ला हिँड्न पाउने नारी चाहिँ बन्द काेठमा बस्नुपर्ने बाध्यता रहेकाेले यसलाई अबकाे पुस्ताले अन्त्य गर्न जरुरी रहेकाे उपाध्यक्ष केसीले जनाइन् ।
यस्ताे लैंगिक हिंसालाई स्थानीय तथा सम्बन्धित निकायले निगरानी गरी आ-आफ्नो ठाउँबाट सबै मिलि आवाज उठाउनुपर्ने उनले जिकिर गरिन् । अवसर पाए महिलाले पनि समाजकाे नेतृत्व गर्न सक्ने ज्वलन्त उदाहरण रहेकाे जनाउँदै घरकाे चुलाे चाैकाेदेखि लिएर महिला अहिले सरकारकाे अग्र पंक्तिमा पुगेकाे उपाध्यक्ष केसीले बताइन् । यस्ता घटना आफ्नाे समाजमा हुन नदिन तथा महिलाहरू सजग रहने समेत उनले आग्रह गरिन् ।
यसैबीच महिला मानव अधिकार रक्षक सञ्जाल कपिलवस्तुकी अध्यक्ष मिना परियारले महिला र बाल अधिकारकाे घटना लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भएकाे बताइन् । महिला माथि हुने विभेद र बहिष्कारले मानव मर्यादा, समानता, सम्मान र सिद्धान्तको उलंघन भएकाे उनले जनाइन् ।
लैंगिकतका आधारमा राजनीतिक आर्थिक, सामाजिक, साँस्कृतिक भाैतिक सुरक्षा र आत्म सम्मान पूर्वक जीवन व्यतीत गर्न सिर्जना गरिने अवरोध घटना पछिल्लो समय बढेर गएकाे समेत अध्यक्ष परियारले उल्लेख गरिन् ।
“सामाजिक न्याय तथा लैंगिक समानता : दिगाे विकासकाे सुनिश्चितता” भन्ने उद्देश्यले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे आयाेजना गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसर पारेर दियालाे नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल र दलित मानव अधिकार निगरानी समितकाे संयुक्त आयाेजनामा भएकाे कार्यक्रममा शिवराज नगरपालिका वडा नं.१० कि वडा अध्यक्ष मञ्जु मिश्र, किडार्क नेपाल कपिलवस्तुका संयाेजक कृष्ण बहादुर रावल, गिता पाैडेल, सराेज पाैडेल, सम्झना थारु र सञ्चारिका समूहकी महासचिव शारदा केसी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।