कपिलवस्तु महोत्सवकाे तयारी पुरा
राम अवतार चाैधरी
कपिलवस्तु, 
कपिलवस्तुमा १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेकाे ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव यहि चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको आयाेजकले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको करिब ९५ प्रतिशत तयारी पूरा भइसकेको र महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम धमाधाम अघि बढिरहेको संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी मगरले जनाए । 
यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम गरि सकिएको उनले जनाए । महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएको र बुर्ज खलिफाको स्वरुपमा ढालिएर बनाउन लागिएको मूलगेटको काम पनि अन्तिम चरण रहेको निर्देशक रेश्मीले बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले महोत्सव कपिलवस्तुको मान, प्रतिष्ठान एवम् शानको रुपमा रहने बताए । उनले भने : ‘समग्र विकासमा यस महाेत्सवले टेवा पुग्ने छ ।’ कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उकास्न यसले निकै मद्दत पुग्ने समेत अध्यक्ष घिमिरेले बताए ।
अध्यक्ष घिमिरेका अनुसार महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार गर्ने आयाेजकले लक्ष्य लिएको छ । 
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रबर्द्धन गर्न महोत्सव महत्वपूर्ण सावित हुने अगुवाहरुकाे भनाइ छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुलाई महोत्सव स्थलमा प्रदर्शनका लागी निशुल्क स्टलको व्यवस्था मिलाईएको बताइएको छ । महोत्सव स्थलमा २ सय ८० वटा स्टलहरु रहने साथै दुबईकाे लाेकप्रिय बुर्जा खलिफा महाेत्सवकाे गेटलाई आकर्षक बनाउने छ । 
कपिलवस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघ निवर्तमान अध्यक्ष डिला भुसाल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।