निशा थेबे हत्या प्रकरण: श्रीमान पक्राउ

३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।
निशा थेबेलाई छरछिमेकीले बिहीबार दिनभर देखेनन् । अरुबेला खोपाङ्गे गाउँ डुल्थिन् उनी । फेरि, बुधबार उनीहरूको घरमा हो–हल्ला सुनिएको थियो ।
निशाको घरमा जाँदा उनी नदेखिएपछि प्रहरीलाई थाहा दिएको एक युवकले बताए । ‘अघिल्लो दिन रुने/कराउने सुनिएको थियो र घरमा जाँदा देखिइन् । नदेखिएपछि शंका लाग्यो र प्रहरीलाई थाहा दिएँ’, ती युवकले भने ।
निशा ३९ वर्षीया युवती हुन् । उनी रक्सी खान्थिइन् । श्रीमान् दिलिप त जहिल्यै खाने । उनीहरूबीच घरिघरी घरमा झगडा हुन्थ्यो नै । त्यही भएर कतै गम्भीर घटना त भएन ? त्यही लागेर प्रहरीलाई बेपत्ता भएको भनेर थाहा दिएको युवकले बताए ।
बेपत्ता भएको खबरपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले प्रहरी चौकी पौवासारताप र जिल्ला प्रहरी कार्यालयबाट निशाको खोजतलासमा संयुक्त टोली परिचालन गरे ।
टोलीले श्रीमान् दिलिपलाई अनुसन्धानको दायरामा ल्याए । प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार दिलिपलाई सुरुमा सोधिएको थियो – खै तपाईंको श्रीमती ? जवाफमा दिलिपले भने– थाहा छैन सर ।
फेरि, प्रहरीले प्रतिप्रश्न गर्दै सोध्यो– आफ्नै श्रीमती थाहा हुँदैन ? अन्ततः निकैबेरपछि श्रीमती निशालाई बुधबार रक्सी खाएर झगडा हुँदा हत्या गरेको प्रहरीसामु खुलासा गरे ।
हत्याको खुलासापछि भने प्रहरी टोलीलाई उनैले निशाको शव भएको ‘सार्की खोल्सा’ मा रहेको ओढार पुर्याए । जहाँ निशाको शव पत्करले छोपिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
घटनाको कारण रक्सी खाएपछि सामान्य विवाद भएको र सोही क्रममा घाँटी थिचेर हत्या गरेको खुलेको विश्वकर्माको भनाइ छ ।
हत्या आरोपी दिलिप अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।
आइतार जिल्ला अदालत पाँचथरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिने विश्वकर्माले बताए । उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने भएको छ ।