प्रेमिकाको अध्ययन खर्च बेहोर्न अपहरणपछि फिरौती माग्ने ३ पक्राउ


 

 



 

अपहरण गरेर फिरौती मागेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार दिउँसो तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरेका २७ वर्षीय सुमन दाहाल, सुनसरी इनरुवाका २४ वर्षीय शंकर खड्का र ३० वर्षीय भवेश थापा मगर रहेको प्रहरीले जनाएको छ ।

 

 




प्रहरीका अनुसार उनीहरुले विराटनगर–४, कञ्चनबारीमा बस्ने सप्तरीका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरी परिवारसँग दुई लाख रुपैयाँ मागेका थिए ।

 

 

पक्राउ परेकामध्ये युवक भवेशको सुनसरीको इनरुवास्थित घरमा राखिएको आलोककै फोनबाट धम्क्याउँदै फिरौती मागिएको प्रहरीले जनाएको छ । पीडित परिवारजनको जाहेरीपछि उनीहरु पक्राउ परेका हुन् ।

 

 

प्रहरीका अनुसार वैदेशिक रोजगारको क्रममा दुबइमा पनि आफूसँगै काम गरेका साथी भवेशको घरमा सुमनले आलोकलाई राखेका थिए । विराटनगरको एक स्थानीय कलेजमा पढ्ने आफ्नो प्रेमिकाको आलोकसँग सम्बन्ध सुरु भएको थाहा पाएपछि सुमनले अपहरणको योजना बनाएको प्रहरीले जनाएको छ ।

 

प्रेमिकाको सम्पूर्ण अध्ययन खर्च बेहोरेकोले आलोकलाई अपहरण गरेर उक्त रकम असुल्ने दाउमा सुमन थिए । योजनाबद्ध ढंगले विराटनगरको कञ्चनबारीबाट बिहीबार बेलुका आलोकको अपहरण भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

 

घटनास्थल मोरङ भएकोले उनीहरुलाई पक्राउ गरेर सुनसरी प्रहरीले मोरङ प्रहरीलाई बुझाएको छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले पक्राउहरुविरुद्ध आइतबार अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।

 



सम्बन्धित
Loading...