र्यापमा अश्लील शब्दः आवश्यकता कि उत्तेजना ?

अहिले शशी मण्डलले ‘नेपहपको श्रीपेच’ एपिसोडमा गाएको र्याप निकै नै चर्चामा छ । ‘मिलेन लेभल तेरो बाउ बोला ए,’ जी बब भर्सेस माइलाको केही समय अघिको यो र्याप पनि भाइरल भयो । केही वर्षदेखि भिटेनलगायत अन्य र्यापरको र्याप गीतले पनि समाज तरंगित नै छ । म खासै र्याप गीतको पारखी त होइन तर समाजका अनेक कुराहरुबाट म अछुतो रहन सक्दिनँ । मैले चाखपूर्ण तरिकाले नै भिटेनका ‘हामी यस्तै त हो नि ब्रो’देखि अन्य र्याप गीतसम्म पछ्याएरै हेरेँ ।
भिटेनका र्यापमा समाजका अनेक चरित्रहरुको जसरी चित्रण गरिएको छ,अनि समाजका लागि अपाच्य शब्द सामेल छन्,त्यो चाहिँ आपत्तिजनक नै छ । यसैले बारम्बार विभिन्न कालखण्डमा उनी प्रहरी हिरासतमा समेत पुग्नुपर्यो । अधिकांश र्यापरका र्यापहरु मन छुने राम्रा छन् तर केहीमा भने अश्लीलता भरिभराउ छ । र्याप गीतमा अश्लील शब्दको प्रयोग किन र कसरी हुन्छ भन्नेबारे यस लेखमा चर्चा गरिएको छ ।
म हाल सुदूरपश्चिमको एक दुर्गम पहाडी जिल्लामा चिकित्सकको रुपमा कार्यरत छु । यहाँ र्याप गीत सुन्ने जमात त कमै छ तर यहाँ र्यापरहरुको गीतमा प्रयोग गरेका अश्लील शब्द भने हरेक क्षण र हरेक जमघटमा सुनिन्छ । मदिरा सेवन गरेर आफ्नो मनोरञ्जन हुन्छ भनेर मान्यता राख्ने यताका वासिन्दा शब्द शब्दमा ‘मु’ र ‘मा’ जस्ता शब्द प्रयोग गरेकै हुन्छन् ।
फुटबल वा भलिबल गेम होस्,जति नै सुन्दर भावनात्मक सम्बन्ध राखेर खेलेको भएता पनि आपसी सम्बोधनमा यस्ता शब्द बारम्बार प्रयोग भएको सुनेको छु । गाउँले भेला होस् वा नगरस्तरीय औपचारिक भेला कसै न कसैको मुखबाट यस्ता शब्द फुत्किहाल्छन् ।अब हामी अनुमान मात्र लाउन सक्छौं कि घर घरको बन्द कोठाभित्र यस्ता अश्लील शब्दको प्रयोग कति बढी होला ?आज हामी सभ्य समाजको निर्माण गर्न र्यापरलाई गाली गर्दै फेसबुकमा स्ट्याटस लेखेर मात्र हुँदैन । आफ्नो समाज वरपर समेत नियालेर हेर्नुपर्छ ।