स्थानीय भन्छन्, स्टेचरमा विरामी र पिठ्युँमा भारी बोक्ने दिन गए

जुम्लाको विकट मानिने भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ ।
जिल्लाको तातोपानी गाउँपालिका–७ को ताम्ती गाउँ नयाँ वर्षमै सडक सञ्जालमा जोडिएको हो ।
जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् ।
‘सडक नहुँदा स्टेचरमा बिरामी बोक्नु पर्ने बाध्यता थियो, कैंयौको बाटोमै ज्यान गयो, अव सुख का दिन आउनेछन्, पिठ्युँमा भारी बोकेर मुटु फुट्ने उकालोमा यात्रा गर्नु पर्ने छैन ।’ स्थानीय अर्जुन रावतले भने ।
जुम्लाको विकट भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडियो
स्टेचरमा सुत्केरी श्रीमति बोक्दा चार वटा बच्चा बाटोमै गुमाएका दुर्ग रावत भन्छन्, ‘नयाँ सालमा ताम्ती बासीको गाउँमै मोटर हेर्ने चाहाना पुरा भएको छ, त्यो भन्दा खुसीको कुरा अव कोहि सुत्केरी आमा, विरामी र शिशुहरुले ज्यान गुमाउने छैनन् ।’ ताम्ती गाउँ भेरिखोलाको अन्न भण्डार भनेर समेत चिनिन्छ । झण्डै तिन सय घरधुरी रहेको ताम्ती भेरिखोला क्षेत्रकै सबैभन्दा ठुलो गाउँ पनि हो । सिमि,आलु,फापर,मकै, गहुँ, जौं प्रशस्त फल्ने ताम्ती गाउँका स्थानीयलाई आफ्ना कृषिजन्य उत्पादन बजार सम्म लैजान सहज हुने अपेक्षा गरिएको स्थानीय बिरजीते रावतले बताए ।
तातोपानी ७ को वडा कार्यालय कँयरकोट हुदै निगाली खोलाको भिड छिचोल्दै सडक गाउँ सम्म पुर्याइएको होे । तातोपानी ७ का चार गाउँ मध्ये सर्मी र बारागाउँ यस अघिनै सडकमा जोडिसकेका थिए । छिमेकी गाउँ सुर्कीमा भने सडक ५० प्रतिशत बनेको छ ।
पालिकाको क्रमागत योजना मार्फत ताम्तीमा सडक पुर्याइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए ।
‘तातोपानीका झण्डै तिन दर्जन बस्ती मध्ये अव भेरिखोलाका सुर्की र थलाले गाउँ मात्रै सडकको पुहँच बाहिर छन्, यि दुई गाउँमा समेत बिच सम्म सडक बनिसकेको छ ।’ अध्यक्ष न्यौपानेले भने । पाँचवर्षे कार्यकाल पुरा गरेर जनप्रतिनिधि बिदाई हुदै गर्दा ताम्ती गाउँ सडक को पहुँचमा पुगेपछि जनप्रतिनिधिले गरेका बाचा समेत पुरा भएको अध्यक्ष न्यौपानेले बताए ।