कावासोतीमा जलश्रोत संरक्षण तथा बाँडफाँड सम्बन्धि कानून निर्माण गर्न प्रारम्भिक गोष्ठी


 



कावासोती  ।  कावासोती नगरपालिकामा जलश्रोत संरक्षण तथा बाँडफाँड सम्बन्धि नीति तथा कानून निर्माण कार्यको थालनी गरिएको छ ।

 

 

विन्डपावर नेपाल प्रा. लि.को आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा जलश्रोत संरक्षण तथा बाँडफाँड सम्बन्धी नीति तथा कानून तर्जुमा गर्न आइतबार प्रारम्भिक कार्यशाला गोष्ठी भएको छ ।  नगरपालिकाको सभाहलमा भएको गोष्ठीमा सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरकृया गरिएको थियो ।

 




 उक्त गोष्ठीमा प्राकृतिक श्रोत व्यवस्थापन कानून अभिवक्ता दिलराज खनालले स्थानीय तहको कानून निर्माणका चरण र प्रक्रियाहरूको बारेमा प्रस्तुतीकरण गर्दै कावासोती नगरपालिकाको हकमा विषेश गरेर यहाँको वस्तुगत स्थिति , नारायणी नदीसँग सम्बन्धी प्रमुख समस्या , स्थानीय सरकारले यसको संरक्षणका लागि भोग्नु परेको मुख्य चुनौतीहरु , यस सम्बन्धी कानूनी दस्ताबेजमा समेट्न छुट्नु नहुने कुराहरूमा सरोकारवालासँग छलफल तथा अन्तरकृया गर्दै राय सुझाव माग्नुभएको थियो ।  

 

 

छलफलका क्रममा संरक्षणबारेमा शालिकराम सापकोटाले  तराईका भूमि कंक्रिटमय बन्दा पानीको मुहान सुक्ने भएकाले खेतीयोग्य जमिनलाई प्लटिङ्ग गर्न नपाइने कानून ल्याउन जरुरी रहेको बताउनुभयो । तराईका  खेतीयोग्य जमिनमा  प्लटिङ्ग गरेर घर निर्माण गर्दा माथीबाट पर्ने पानी जमिनले सास्न नपाउने हुँदा जमिनमुनिको पानी सुक्दै जाने उहाँले बताउनुभयो ।

 

यस्तै उहाँले नगरपालिकाभित्र निर्माणाधीन नालाहरुमा ठाउँठाउँमा सिपेच राख्नुपर्ने समेत सुझाव दिनुभयो । नालामा निर्माण गर्दा राखिने सिपेचले पानी जमिनमा सोस्ने हुँदा जमिनमूनी पानीको श्रोत जोगाउन टेवा पुग्ने बताउनुभयो । 

 

 

यस्तै अर्का संरक्षणकर्मी एल.एन. दवाडीले खेतीपातीमा जथाभावी विषादीको प्रयोग गर्दा त्यसले पानीको श्रोतमा समेत असर गरेको बताउनुभयो । यस्तै उहाँले नारायणी नदीमा जथाभावी फोहोर फाल्ने र प्रदुषण हुने क्रम दिनानुदिन बढ्दै गएकाले यसको रोकथामका लागि कानून  ल्याउन जरुरी रहेको बताउनुभयो ।

 

यस्तै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरेले नारायणी नदीको संरक्षण गर्न स्थानीयले मात्रै नभई केन्द्रबाट नै पहल हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नारायणी नदी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको र निकुञ्जको आफ्नै कानून भएकाले निकुञ्जसँग पनि समन्वय गर्दै नबाझिने गरि कानून बनाउन सुझाव दिुनभयो ।

 

 

यस्तै कावासोतीमा पर्ने तीनवटा खोलाहरु हिउँदमा माथि पानी नहुने तर भित्रभित्रदेखि गएर दक्षिणतर्फ तल्लो भागमा पानी देखिने गरेकाले माथिल्लो क्षेत्रमा पानी संकलन गर्नका लागि पनि कुनै योजना बनाउनुपर्ने बताउनुभयो ।

 

 

संरक्षणकर्मी सुदन लम्सालले कावासोती क्षेत्रमा बग्ने खोलानालाको मुहान महाभारत श्रृङखलाका डाँडाकाँडा  भएकाले ती ठाउँमा बस्नेहरुलाई समेत सचेतना जगाएर बृक्षरोपण तथा पानीको श्रोत संरक्षणका गतिविधी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

 

 

यस्तै सिंचाई तथा जलश्रोत डिचिजन कार्यालयका इन्जीनियर तोयानाथ आचार्यले पानीको  श्रोत संरक्षण गर्न चुरे क्षेत्रको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । यस्तै नमूना मध्यवर्ती सामुदायिक वन उपभोत्तःा समितिकी सचिव द्रोपदी गुरौले यहाँ रहेका सिमसार क्षेत्रको संरक्षण गर्नका लागि विषेश योजना बनाउन सुझाव दिनुभयो ।

 

 

उहाँले पहिलेको तुलनामा अहिले मधयवर्ती आसपासका वनहरुमा सिमसारको क्षेत्रफल घट्दै गएको र वन समूहले सिमसार क्षेत्र जोगाईराख्न घोलको व्यवस्थापन तथा बोरिङ्ग स्थापना गरेर जंगली जनावारका लागि पानीको व्यवस्था गर्दै आएको बताउनुभयो । उहाँले पहिले संरक्षण  र त्यसपछि श्रोतको बाँडफाँड गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा सरोकारवालाहरुबाट आएको रायसुझावपछि आफ्नो धारणा राख्दै कावासोती नगरपालिकाले जलश्रोत सम्बन्धी  एउटा सानो कार्यविधि पारित गरेको जानकारी गराउनुभएको थियो । यो कार्यविधि विषेश गरेर मुहान  संरक्षण सम्बन्धी रहेको र उपभोक्ता समिति निर्माण सम्बन्धी रहेको बताउनुभयो ।

 

 

उहाँले कावासोतीभित्र रहेको टरुवा तालको संरक्षणका लागि गुरुयोजना नै बनाएर काम भईरहेको तथा  पोखरी तालमा समेत बजेट बिनियोजन गरेर  पानी संरक्षण संगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरि काम भइरहेको बताउनुभयो । उहाँले कावासोतीमा रहेको केरुङ्गे खोलाको व्यवस्थापन गर्न पनि त्यत्तिकै आवश्यक रहेको भन्दै छिटोभन्दा छिटो व्यवस्थापन नभए वर्षामा कावासोती बजार नै डुब्ने खतरा समेत रहेको बताउनुभयो ।

 

 

उहाँले एकातिर चुरे संरक्षण गर्नुपर्ने,  अर्कोतर्फ नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने दुबै कुरा नगरि नहुने तर, यी दुईबीच कानूनी जटिलता हुँदा काम गर्न गाह्रो हुने गरेको बताउनुभयो । यस्तै गोष्ठीमा सम्बेधन गर्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले  यहाँका जलश्रोत संरक्षण तथा बाँडफाँड उपयोगका लागि नगरपालिकामा ऐन नै बनाएर पास गरेर अघि बढ्ने बताउनुभयो ।

 

 

नगरपालिकाले जलश्रोत संरक्षणका लागि केहि कार्यविधि बनाएपनि दीगो संरक्षणका लागि ऐन बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कावासोतीमा रहेको खोलानाला र तालतलैया किन सुक्दै गए ? अब यिनीहरुको संरक्षण र उपभोग कसरी गर्ने भन्नका लागि नै जलश्रोत सम्बन्धी कानून निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिमसार र जलश्रोतको संरक्षण गर्न स्थानीय सरकारले वर्षेनी बजेट बिनियोजन गरेर व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

 

 

उहाँले नारायणी नदीमा  प्रदुषण गर्ने , सिमसार क्षेत्र अतिक्रमण गर्ने , तालतलैया अतिक्रमण गर्ने लगायतका जलश्रोत मास्ने किसिमका गतिविधिमा संलग्नलाई  सजायको भागिदार बनाउनका लागि समेत यो कानून निर्माण आवश्यक रहेको र त्यसैका लागि पहिलो पटक यसरी छलफल गरिएको उहाँले बताउनुभयो । आउँदा दिनमा प्रत्यक्ष रुपमा तिनै स्थानका बासिन्दासंग समेत छलफल गरेर सबैको हित हुनेगरि जलश्रोत सम्बन्धि कानस्न निर्माण गर्ने उहाँको भनाई छ ।

 

 

कार्यक्रममा विन्डपावर नेपाल प्रा. लि का कार्यकारी अधिकृत कुशल गुरुङले कार्यक्रमको उदेश्माथी प्रकाश पार्दै नवलपुर जिल्लामा नारायणी नदी वेसिनमा जलश्रोतको संरक्षण , दीगो उपयोग , लाभको बाँडफाँड सुनिश्चित गर्नका लागि अवसरको खोजी गर्ने तथा यहाँका स्थानीय सरकारहरुलाई जलश्रोत संरक्षण , उपयोग तथा बाँडफाँड सम्बन्धी नीति तथा कानून तर्जुमा अनुमोदनमा सहयोग गर्ने गरि परामर्शदाताका रुपमा संस्थालाई चयन गरेकाले आफुहरु कार्यक्रम लिएर आएको जानकारी गराउनुभयो ।

 

यो कार्यक्रम गैंडाकोट नगरपालिकामा सञ्चालन गर्नका लागि छलफल गरिएको उहाँले बताउनुभयो । उहाँले सरोकारवालाहरुसंग छलफल र रायसुझाव लिए मात्रै कानून निर्माणको खाका तयार गरेर सबैको अपनत्व हुनेगरि कानून निर्माण गरिने बताउनुभयो ।

 

 

कार्यक्रममा विन्डपावरकी म्यानेजर सुस्मिता दुलालले परियोजनाको बारेमा प्रस्तुती राख्नुभएको थियो । उहाँले परियोजनाको मुख्य उदेश्य भनेको जलश्रोत संरक्षण सम्बन्धित कानूनी दस्ताबेज तर्जुमा गर्न नवलपुरका कम्तीमा दुई पालिकाको क्षमता अभिबृद्धि गर्ने, तल्लो नारायणी नदी बेसिनमा जलश्रोतको संरक्षण , दिगो उपयोग र समन्यायिक लाभ बाँडफाँड सुनिश्चित गर्ने अवसरहरुको खोजी गर्ने  रहेको बताउनुभयो ।

 

 

कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीयाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिउ अधिकृत राकेश गुरुङ , मध्यवर्ती क्षेत्रका वन उपभोक्ताका प्रतिनीधि , चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका प्रतिनीधि , खानेपानी संस्था , वातावरण संरक्षणमा काम गर्दै आएको संरक्षणकर्मी , सिंचाई तथा जलश्रोत कार्यालय , संरक्षणकर्मी , संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा केवल प्रसाद चौधरीले सहजीकरण गर्नुभएको थियो  ।

 

 



सम्बन्धित
Loading...