नवलपरासीमा छात्रा दुर्व्यवहार प्रकरण : किटानी जाहेरीको तयारी

नवलपरासीको गैँडाकोट– ५ स्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनामा पीडित पक्षले किटानी जाहेरी दिन लागेका छन् ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई शिक्षक कपिल घिमिरेले ‘पोर्न भिडियो’ देखाएर जबर्जस्ती गर्न खोजेको घटना हिजो बाहिर आएको थियो । सोही विषयमा भएको विवादका क्रममा आक्रोशित विद्यार्थीले तोडफोड नै गरेका थिए । घटनाका विषयमा आज भने पीडित पक्षले शिक्षक विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठकले पीडित पक्षले आज किटानी जाहेरी दिन लागेको बताए । उनकाअनुसार आइतबार नै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । उनले आरोपितमाथि अनुसन्धान भइरहेको बताए ।
हिजो भएको तनावका क्रममा इलाका प्रहरी कार्यालय गैँडाकोट प्रहरी निरीक्षक सहित १० जना प्रहरी समेत घाइते भएका थिए । घटना केही दिनअघि भएपनि हिजो विद्यार्थीहरुले थाहा पाएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थी आक्रोशित हुँदै नाराबाजी गरेको भिडियो सार्वजनिक भएको थियो ।