जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गर्न थालेको छ । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रुपमा वर्गीकरण थालेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा रहेको बताए ।
उनका अनुसार संवेदनशील १५ मतदान केन्द्र छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् । डिएसपी चन्दले भने, ‘२०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । ’ भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा राखिएको छ ।
उनले जिल्लाको सडक पुगेको तर पुल नहुँदा सवारीसाधन जान नसकेको तिला गाउँपालिकाका मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा हेरिएको बताए । त्यहाँ पुग्नको लागि झण्डै ७ घण्टा लाग्ने अनुमान गरिएको छ ।
स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ । जुम्लामा ६ सय ६९ म्यादी प्रहरी भर्ना गरिएको छ ।
सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिसकेको छ ।
पहिलो स्थानीय निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएकोले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । अहिले सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकोले समस्या छ । डिएसपी चन्दले भने, ‘एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाकर्मी खटाइने भएको छ । केन्द्रसँग पनि जनशक्ति माग भइरहेको छ।’
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा अघि बढाउनको लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका मतदान केन्द्रमा पुग्न न्युनतम ५ मिनेट देखि ७ घण्टासम्म लाग्ने सुरक्षा समितिले जनाएको छ ।