हाेटलको सातौं तलाबाट खसेर एक विदेशीको मृत्यु


 



काठमाडौंको ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ।

बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 




आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो। उनी ठमेलको होटल मनाङमा बसेका थिए।

 

बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

‘प्रारम्भिक अनुसन्धानबाट उनको खसेर मृत्यु भएको देखिन्छ,’ उनले भने।

फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए। उनका अरू साथीहरू पनि नेपालमा आए/नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो।

 

मैनालीका अनुसार उनीहरू अप्रिल ६ मा नेपाल आएका थिए।

घटनाबारे खबर भएपछि परिसर प्रमुख, काठमाडौं उपत्यका अनुसन्धान कार्यालय प्रमुखलगायतको टोली घटनास्थल पुगेका थिए।

शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 



सम्बन्धित
Loading...