सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक जारी


 



सत्ता गठबन्धनले तीन दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । आइतबार, सोमबार र मंगलबार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मंगलबार त आधा रातसम्म छलफल गरेका थिए ।

 

तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रुप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बैठकमा कार्यदलका केही सदस्यहरू समेत सहभागी छन् ।

 




गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गरी प्रतिस्पर्धामा जान लागेका हुन् । नेताहरूले सात बुँदे मापदण्ड बनाएर देशैभरि चुनावी तालमेल गर्न आह्वान गरेका छन् भने केन्द्रबाट छ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पद बाँडफाँट गर्ने प्रयास भइरहेको छ । नेताहरूका अनुसार बुधबारको बैठकले त्यसलाई अन्तिम रुप दिनेछ ।

 

नेताहरूका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर राखेको छ भने नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिने भएका छन् ।

 

त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, चितवन र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ ।

त्यस्तै, काठमाडौंको उपमेयर नेकपा एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।

 

११ उपमहानगरपालिकामध्ये अब केही ठाउँको विषयलाई अन्तिम रुप दिन बाँकी रहेको एक नेताले बताए ।

‘महानगरपालिकाको हिजै सहमति भएको हो । राति उपमहानगरको विषयमा समेत करिब करिब सहमति जुटेको छ,’ ती नेताले भने, ‘धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसले राख्ने बाँकी अन्य दललाई दिनेबारे छलफल भइरहेको छ ।’

 

त्यसमध्ये जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर, जनकपुरको विषयमा भने सहमति भइसकेको छैन । वीरगन्ज महानगर पनि जसापालाई नै दिएकाले जनकपुर आफूले पाउनुपर्ने कांग्रेसले दाबी गरेको छ । कांग्रेस र जसपा दुवैले जनकपुरमा दाबी गरेपछि सहमति नभएको ती नेताले बताए ।

 



सम्बन्धित
Loading...