नवलपुरः काँग्रेसलाई उमेदवार टुंगाउनै सकस, नगरपालिकाका प्रमुख टुंगिए




नवलपुर । पूर्वी नवलपरासीमा मनोनयनको दिनसम्म पनि काँग्रेसलाई उमेदवार टुंगाउन सकस भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा अन्य पार्टी भन्दा बलियो देखिएको काँग्रेसलाई नवलपुरमा गठबन्धन पछि जित हात पार्न सहज हुने भएको कारण आकांक्षी धेरै भएकोले उमेदवार टुंगाउन सकस भएको हो ।

 

नेपाली काँग्रेस नवलपुरका अनुसार अहिलेसम्म नवलपुरका गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दुका नगरप्रमुखका उमेदवारहरु टुंगिएको छ । कावासोती र देवचुलीमा नेपाली काँग्रेसले उपमेयर पद नेकपा माओवादी केन्द्रलाई छाडेको छ ।

 




काँग्रेस नवलपुरका गोपाल वस्ताकोटीका अनुसार नवलपुरमा अहिले काँग्रेस उमेदवार टुंगाउन छलफलमा छ । तथापि टुंगिसकेको भने छैन । उनको अनुसार वडाहरुको हकमा भने अधिकांश उमेदवारहरु टुंगो लागिसकेको छ ।

 

काँग्रेस नवलपुरका अनुसार गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक वस्ताकोटी, कावासोतीमा महेन्द्र पोख्रेल र मध्यविन्दु नगरपालिकामा सूर्य गुरुङले नगरप्रमुखमा उमेदवारी दिने भएको छ ।

 

बौदीकाली, बुलिङ्गटार, हुप्सेकोट र विनयी त्रिवेणीमा उमेदवार टुंगाउन बाँकी छ । हुप्सेकोटमा नेकपा एकीकृत समाजवादीले पालिका अध्यक्ष गठबन्धनबाट आफूहरुले पाउनु पर्ने दावी गरेको छ । जनता समाजवादी पार्टीले देवचुलीमा नगरप्रमुख वा उपप्रमुखमा दावी गरेको छ ।

 

काँग्रेसले नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग गठबन्धन अनुसार सहमति टुंगाइसकेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग सहमति गर्न बाँकी छ ।



सम्बन्धित
Loading...