हिलोपानी छ्याप्ने अनौठो पर्व


 

 



हिलोमाटो एकअर्कालाई दलेर पनि पर्व मनाइन्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ † तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक हो, जुडशीतल । जनकपुरधामको चोक–चोकमा युवा एकअर्कालाई हिलोमाटो लगाएर पर्व मनाउँछन् । फागु पर्वमा रङ, अबिर दलेजस्तै यो पर्वमा हिलोमाटो लगाउने परम्परा छ । हिलो खेल्ने कार्यमा सक्रिय सामाजिक कार्यकर्ता अमरचन्द्र अनिल आफूहरू उत्साहसाथ पर्व मनाउने गरेको सुनाउँछन् ।

 

 

जनकपुरधामका युवा कमिटी हिलोमाटो खेल्न विशेष कार्यक्रम नै आयोजना गर्छन् । पर्वका लागि ठाउँठाउँमा एक साताअघिदेखि नै हिलोमाटो व्यवस्था गरिएको हुन्छ । ‘शरीरमा चिकनी माटो लगाउनु पनि स्वास्थ्यका लागि फाइदा हो,’ छाला विशेषज्ञ डा. प्रमोद झा भन्छन् ।

 




सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव ‘मैथिली संस्कृति र परम्परा जोगाउन हिलोमाटो खेललाई उत्सवका रूपमा लिइने गरिएको’ बताउँछन् ।

 

 

जनकपुरधामका विभिन्न क्लबबीच यो पर्वलाई छुट्टाछुट्टै मनाउने परम्परा विकास भएको छ । हिलोमाटो लगाएर जुडशीतल सबैले मनाए पनि केही क्लब पर्वको अवसरमा नाला र सडक सफाई गर्छन् । सफाईमा सहभागी कृष्णचन्द्र साह ‘समाजमा सकारात्मक सन्देश जाओस्’ भनेर सफाई अभियान चलाएको सुनाउँछन्।

 

धनुषा गाउँपालिका तथा नगरपालिकामा अधिकांश व्यक्ति एकै ठाउँ भेला भएर हिलोमाटो खेल्ने गर्छन् । धनुषा गंगुलीका गुडडु कर्ण ‘यस्ता पर्वले भाइचारा बढाउन बल पुग्ने’ विश्वास राख्छन् ।

 

सांस्कृतिविद् डा. भोगेन्द्र झा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म यो पर्वमा सहभागी हुनुले यसको महत्व मिथिलाञ्चलमा अत्यधिक रहेको औंल्याउँछन् ।

 

बढ्दो गर्मी र तातो हावाबीच सुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलता कामना गर्दै मनाइने पर्वमा खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ ।

 

मधेस प्रदेश नीति आयोग उपाध्यक्ष एवं संस्कृतिविद् डा. भोगेन्द्र झा जुडशीतलले प्रकृति संरक्षण र सामाजिक सद्भाव मुख्य सन्देश दिने बताउँछन् । यसमा मिथिलाञ्चलभर आफूभन्दा सानाको शिरमा जल थपथपाएर आशिर्वाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवं ज्येष्ठ सदस्यले सानाको शिरमा जल राखेर आशिर्वाद दिने चलन छ ।

 

परम्पराअनुसार घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्छन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएकाले यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार डा. रेवतीरमण लाल बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने)को कामना गरिने हुँदा यसको मुख्य सन्देश कृषिसँग सम्बन्धित रहेको उनी बताउँछन् ।

 

 

‘सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु पर्वको मूल उद्देश्य हो,’ संस्कृतिविद् चन्द्रमोहन झा ‘पडवा’ भन्छन् । नयाँ वर्षमा जल सिञ्चित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभर नै उसले राम्रो काम गर्ने जनविश्वास छ ।

 

प्रदेश सांसद यादव जुडशितलमा पहिलेपहिले इनार, कुवा, पोखरी गाउँमा युवाले सफाई गर्ने अभियान नै सञ्चालन गर्दै आएकोमा अहिले नयाँ पुस्तालाई जुडशीतल’bout जानकारीसमेत नरहेको बताउँछन् । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले यस्ता पर्व संरक्षणमा महत्वपूर्ण योग्दान खेलिरहेको उनको कथन छ ।

 

‘जुडशीतल प्रकृति पूजाको पर्व हो,’ मैथिली संस्कृतिका जानकार पडवा भन्छन्, ‘जुडशीतलमा मानवमात्र नभई रुख विरुवासमेतलाई जुडाउने (जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वका रूपमा समेत लिइन्छ । विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनीलगायत परिकार इष्टदेवलाई चढाई अनिमात्र भोजन गरिन्छ ।’

 

यो पर्वका दिन घरघरमा बासी बरी भात खाने चलन पनि छ । मिथिलाञ्चलमा जुडशीतलका दिन चुल्होलाई विश्राम दिइन्छ । शिकार खेल्ने परम्परा पनि यसै दिन छ ।

 

 



सम्बन्धित
Loading...