निर्वाचनको बहिस्कार भन्दै काठमाडौं लगायत देशभर राँके जुलुस, दर्जनौ नेता कार्यकर्ता पक्राउ
देशैभर स्थानीय निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यकामा निर्वाचनको पूर्वसन्ध्यामा ‘प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं’ भन्दै विशाल मशाल जुलुस प्रदर्शन गरेको छ ।
मशाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
मशाल जुलुसमा हस्तक्षेप गरी प्रहरीले पार्टीका पीवीएम दिनेश शर्मा सागरसहित दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्ने अन्य नेताहरुमा हरिकृष्ण गजुरेल, बसन्त बोगटी, शारदा महत, खगेन्द्र छन्त्याल, राम नेपाली, सुनिता बुढाथोकी, ढोगप्रसाद अधिकारी, सुरेश तामाङ, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, रामभक्त आचार्य, टिका परेल, अब्दुल सलाम लगायत रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।
उहाँहरुलाई प्रहरी कार्यालय दरबारमार्गमा राखिएको छ ।
ललितपुरमा जिल्ला सेक्रेटरी श्याम केसी गिरफ्तार

ललितपुर । देशैभर स्थानीय निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले ललितपुरमा निर्वाचनको पूर्वसन्ध्यामा ‘प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं’ भन्दै मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुस मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरिएको थियो । मशाल जुलुसको नेतृत्व क्रान्तिकारी माओवादीका पीवीएम पवनमान श्रेष्ठले गर्नुभएको थियो ।
मशाल जुलुसमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं, राष्ट्रघाती दलाल सरकार मुर्दावाद, नयाँ जनवादी गणतन्त्र जिन्दावाद लगायतका नाराहरु समेत लगाइएको थियो ।
रिहाइ गर्न जोडदार माग

काठमाडौं । भोली २०७९ वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा आज साँझ काठमाण्डुको असन चोकमा आयोजित मशाल जुलुस कार्यक्रममा देउवा नेतृत्वको गठबन्धन सरकारले हस्तक्षेप गरी पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई बलजफ्ती गिरफ्तार गरेको घटनाको विरोधमा वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले गिरफ्तार पीविएम कमरेड दिनेश शर्मा, सीसीएम कमरेडहरु शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजुलामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायत सबैलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

वक्तव्यमा ललितपुरको महालक्ष्मी स्थान नजिकबाट कमरेड श्याम केसीलाई पनि गिरफ्तार गरिएको उल्लेख गर्दै निर्वाचन बहिष्कारका लागि प्रचार प्रसार गर्न पाउने नागरिकहरुको अधिकारमाथि प्रहरी हस्तक्षेप गर्ने, राजबन्दीहरुलाई हतकडी लगाउने र शारीरिक तथा मानसिक यातना दिने सरकारको फासीवादी रवैयाको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गरिएको छ । र, गिरफ्तार गरिनुभएका सम्पूर्ण राजबन्दीहरुलाई अविलम्ब र विना शर्त रिहा गर्न सरकार समक्ष जोडदार माग गरिएको छ ।