काठमाडौं महानगरपालिकामा अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने


 



काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ ।

 

काठमाडौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो । मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ ।

 




यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ ।  काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो ।

 

कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो । अघिल्लो निर्वाचन २०७४ सालमा यो महानगरको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।

 

 ढिलो मत गणनाको सामाजिक सञ्जालमा व्यङ्ग्य ? 

ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिभिन्न किसिमका ट्रोल बनाउन तथा ब्यङ्ग्य गर्न थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तिम मत परिणाम आउँदा बालेन साहको अवस्था भनेर उनको दारी फुलेको फोटो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

 

 

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले मत गणक नै मतगणना कति पुग्यो भने पूर्व सचिव भीम उपाध्यायको फेसबुक चेक गर्दै भनेर ब्यङ्ग्य गरेका छन् ।  कतिपयले किताबको पाना पल्टाएको आधारमा आफूलाई पुरै किताब कण्ठ हुने भनेर भ्रम फैलाएका विजय शाहीलाई बोलाउनुपर्ने भन्दै ब्यङ्ग्य गरेका छन् ।

 

 



सम्बन्धित
Loading...