‘कबड्डी ४’को व्यापार रकेटको गतिमा ‘५ दिनमा १२ करोड कमाई ’


शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ले ५ दिनमा १२ करोड ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताएका छन् । प्रदर्शनको चार दिनसम्मको कमाई साढे १० करोड रहेको जानकारी दिँदै उनले मंगलवार पनि फिल्मले देशभर डेढ करोड ग्रस कलेक्सन गरेको बताए । पहिलो हप्तामा फिल्मले १५ करोडमाथिको व्यापार गर्नेमा उनी विश्वस्त छन् ।



उनले भने- ‘मंगलवार भएको विवादले फिल्मको व्यापारमा केही असर गर्छ कि जस्तो लागेको थियो तर त्यसो भएन । बुधवार पनि फिल्म देशभर हाउसफुल छ । फिल्मको व्यापार रकेटको गतिमा अगाडि बढेको छ । ‘कबड्डी ४’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्म बन्नेमा लगभग निश्चित छ ।’ माउथ पब्लिसिटी बलियो भएकाले हलमा दर्शक नघटेको उनको भनाई छ ।

प्रदर्शनको ५ दिनमा १२ करोड कमाउने पहिलो नेपाली फिल्म बनेको ‘कबड्डी ४’ले बुधवारको कमाईबाट आफ्नै तेस्रो सिरिजको १३ करोडको रेकर्ड तोड्ने देखिन्छ । यसपछि ‘छक्का पञ्जा’को तेस्रो सिरिजको १६ करोडको रेकर्ड तोड्नु पर्ने चुनौती फिल्ममाथि रहनेछ । ‘कबड्डी ४’को कमाईको रफ्तार हेर्दा दोस्रो हप्ताको विकेन्डमा ‘छक्का पञ्जा ३’को रेकर्ड ध्वस्त हुने सम्भावना प्रवल छ ।




‘कबड्डी ४’ले तुफानी व्यापार गर्नुलाई बलियो स्टारकास्ट, अन्तिम सिरिजको रुपमा प्रचार, ट्रेलर र ‘केशरी’ गीतले चुल्याएको हाइप प्रमुख कारण मानिएको छ । दर्शकको ठूलो जमातले फिल्म रुचाएको छ । तर, समीक्षकबाट गतिलो रिभ्यू आएको छैन । त्यसो त, समीक्षकलाई मन परेको फिल्म दर्शकलाई मन नपर्ने र दर्शकलाई मन परेको फिल्म समीक्षकलाई झुर लाग्नु नेपालमा सामान्य हो ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय छ । फिल्मको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । ‘कबड्डी’ सिरिजलाई विट मार्दै अब रामबाबु ‘मास्टर बमकाजी’ बनाउँदैछन् ।

 



सम्बन्धित
Loading...