आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार


लगानी र व्यवसाय सानै सही, उत्साह र लगनले काम गर्दा सफलताको बाटोतर्फ जान सकिन्छ भन्ने दृष्टान्त हुन् आमाछोरी कृष्णकुमारी र चाँदनी श्रेष्ठ।



काठमाडौं, बालाजुकी कृष्णकुमारी श्रेष्ठ ५३ वर्षकी भइन्। उनले केही वर्ष सिलाइ व्यवसाय चलाइन्। सिलाइको काम घरबाटै गर्थिन्। बिहे र छोराछोरी जन्मिएपछि फुर्सद निकाल्न कठिन भयो। व्यवसाय छाडेर दुई दशकभन्दा लामो समय घरायसी काममै बिताइन्।

कृष्णकुमारीले विगत स्मरण गरिन्, ‘दुइटा बच्चा भएपछि घरकै काम भ्याइएन। घर पनि बनाइयो। अनि काम त चटक्कै छाड्नु पर्‍यो।’ काम छाडे पनि लुगा सिउने मेसिन घरमै थन्किएको थियो। छोराछोरी हुर्किएर ठूला भए। थन्किएको मेसिन फेरि चलाउने जाँगर चलेको थिएन।




एक दिन उनकी छोरी चाँदनीले साथीको बच्चा जन्मेको खुसीमा उपहार दिने कुरा गरिन्। कृष्णकुमारीले आफ्नै मेसिनमा दौराभोटो तयार गरिदिइन्। साथीलाई त्यो लुगा साह्रै मन पर्‍यो।

चाँदनी पनि आमाको सीप देखेर दंग परिन्। आफ्नी आमाले यति राम्ररी सिलाउन सक्छिन् भन्ने चाँदनीलाई थाहै थिएन। उनले आमाको सीप व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्थ्यो होला भन्ने सोचिन्।

सेतोपाटीसँग कुरा गर्दै चाँदनीले भनिन्, ‘आमाले कस्तो राम्रो (लुगा) बनाउनु हुँदो रहेछ! यसलाई व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्छ भन्ने सोच आयो।’

कोभिड–१९ का कारण लकडाउनको समय थियो। चाँदनी फुर्सदमा थिइन्। उनले त्यही बेला आमाको सीपलाई ब्रान्ड बनाउने योजना तयार गरिन्। घरसल्लाह भयो। ब्रान्डको नाम राखियो ‘पहिलो पाइला’।

 



सम्बन्धित
Loading...