अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता

चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ । उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको हो ।
आफ्नो नयाँ चलचित्र ‘विराट पर्वम्’ को प्रमोसनमा व्यस्त अभिनेत्रीले प्रमोसनकै क्रममा दिएको पछिल्लो अन्तवार्तामा दिएको बयानपछि पल्लवी विवादमा तानिएकी हुन् । यो विवादले कानुनी मोड लिएसँगै बजरंग दलले उनीविरुद्ध उजुरी नै दर्ता गराएको हो ।
बजरंग दलले हैदराबादको सुल्तान बजार प्रहरी चौकीमा साई पल्लवीविरुद्ध उजुरी दर्ता गराएका हुन् । बजरंग दलका नेताहरूले पल्लवीविरुद्ध विरोध गरेका हुन् । सामाजिक सञ्जालमा पनि यतिबेला यो विवाद उत्कर्षमा पुगिसकेको छ ।
फ्यान मात्रै नभएर इन्डस्ट्रीभित्रकै व्यक्तिहरू पल्लवीको पक्ष र विपक्षमा उभिएका छन् । यो विवाद तब जन्मियो जब अन्तर्वार्ताको क्रममा पल्लवीलाई ‘द काश्मीर फाइल्स’लाई लिएर प्रश्न गरे ।
आफ्नो बयानमा पल्लवी भन्छिन्, “चलचित्रमा ९० को दशकमा काश्मिरी पण्डितहरूको नरसंहारलाई चित्रण गरेको छ । त्यसो भए उक्त घटनाको के कुरा त जब गाईले भरिएको ट्रक बोकेका मुस्लिम चालकलाई कुटपिट गरी जय श्री रामको नारा लगाइयो ।
धर्मलाई कसरी हेर्नुहुन्छ ? काश्मिरी पण्डितहरूको नरसंहार र मोब लिन्चिङमा कुनै भिन्नता छैन ।”उनले आफू सबैलाई एउटै नजरबाट हेर्ने परिवारमा जन्मिएको भन्दै राइट र लेफ्ट विंगमा विश्वास नगर्ने बताउँछिन् ।