पूर्वपश्चिम राजमार्गको नवलपुर सडकखण्ड अवरुद्ध, ३ वटा डाइभर्सन बगायो

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माण का लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार डाइभर्सन बनाएर सडक खुल्न आज दिन भर लाग्न सक्ने देखिएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौता अनुसार यो असार मसान्तसम्म काम सकिसक्नु पर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकेको छ ।
उसले यो बर्षा नलाग्दै पुलपुलेसाको काम सकेर डाइभर्सनको काम सकिसक्ने बताए पनि अहिले पूर्वपश्चिम राजमार्गमा १ सय बढी स्थानमा डाइभर्सनहरुबाट सडक सञ्चालनमा रहेका छन् जसले गर्दा सामान्य पानीमा पनि पटक पटक डाइभर्सन बगाएर सडक अवरुद्ध भईसकेको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरुले निक्कै सास्ती खेप्नु परेको छ ।
