डिभिजन वन कार्यालय नवलपुरद्वारा निशुल्क विरुवा वितरण
दाउन्ने न्यूज –
नवलपुर । डिभिजन वन कार्यालय नवलपुरले नवलपुर भित्र निशुल्क विरुवा वितरण गरेको छ ।
डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार डिभिजन वन कार्यालय नवलपुरले आफ्नै नर्सरीमा यस बर्ष ७५ हजार विरुवा उत्पादन गरेको थियो ।
उक्त विरुवा मध्ये आधाआधी विरुवा वितरण गरेर सकिएको उनले बताए ।
डिभिजन वन कार्यालय नवलपुरले गत बर्षदेखि आफ्नै नर्सरी गराई काठजन्य रुखका विरुवा, डाले घाँसका विरुवा लगायतका विरुवाहरु वितरण गर्दै आएको छ ।

यसैबीच डिभिजन वन कार्यालय नवलपुरले नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ ।
वन ऐनका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।
अन्तरक्रियामा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले वन क्षेत्रमा विकासका काम गर्दा वन ऐन सम्बन्धी कस्ता कानुनी प्रक्रिया पुरा गर्नु पर्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कावासोती नगरपालिका, गैडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।