कारितास नेपाल साफविन कार्यक्रमको जिल्ला संजाल बैठक

प्रिय धन –
नवलपुर , १३ साउन २०७९ –
पूर्वी नवलपरासीमा संचालित कारितास नेपाल साफविन कार्यक्रमको जिल्ला संजाल भेला सम्पन्न भएको छ ।
शुक्रबार कावासोतीको सितारा होटलमा कृषिसंग सम्बन्धित विभिन्न ब्यक्तिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुहुँदै साफविन परियोजनाका संयोजक चिन्तन मानन्धरले आगामी दिनमा कृषि सम्बन्धी सामाजिक अभियन्ता उत्पादन गरि फिन्ल्याण्ड सरकारसंगको सहकार्यमा कार्यक्रमको योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले साफविन संचालित पालिकामा अभियन्ता उत्पादन गरि नयाँ कार्यक्रम अन्तर्गत साना किसानलाई फाईदा पुग्ने योजनाका लागि नवलपुरका सम्पूर्ण स्थानीय तहका प्रतिनिधिसंग छलफल गर्ने समेत बताउनुभयो । संयोजक मानन्धरले कारितास नेपालसंग नवलपुर , सुर्खेत र बर्दिया जिल्लाका झण्डै ९४२ कृषक जोडिएको र च्याऊ, अन्य तरकारी , बाख्रा वितरण , पोषण सुरक्षा , विद्यालयमा कार्यक्रम , स्थानीय सरकारसंगको समन्वय गरि कार्यक्रम गरिएको बताउनु भयो ।
सुधारिएको गोठका लागि सहयोग , कम्पोस्ट मल बनाउने तरिका तथा किसानका लागि आर्थिक सहयोग परियोजनाको महत्वपूर्ण उपालब्धि रहेको मानन्धरको भनाइ थियो । काऊली र आलुमा अनुसन्धान गरिएको तर कोरोनाका कारण कार्यक्रम खासै प्रभावकारी नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसालले क़ृषि संग दक्षता हासिल गरेकाले समेत विदेश यात्राको योजना बनाउनु क़ृषि दुर्घटनाको संकेत भएको बताउनु भयो । नगरप्रमुख भुसालले हामी आफु किसान भन्न मन पराउने तर निर्वाहमुखी मात्र कार्य गरेको भन्दै सम्पूर्ण तरकारी र अन्न पनि आयात गर्ने बानी हटाउन सुझाव दिनुभयो । प्रविधि भित्रिएको तर उपादकत्व बढ़ाउन पहल गर्न नसकिएको स्वीकार गर्दै भुसालले जमिन बाँझो राख्न नहुने भन्दै पशुपालनमा जोड़ दिनेखालको कार्यक्रमको योजना बनाउन कारितास नेपाल र स्थानीय तहका क़ृषि शाखाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि कृषक तथा मध्यविन्दु १४ का वडा सदस्य देविराम आलेले बिउ उत्पादन , बजारीकरण र बिचौलिया सम्बन्धी बिभिन्न समस्याका बारेमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम कावासोतीकी किसान लक्ष्मी तिवारीको अध्यक्षता तथा कावासोती नगरपालिकाका प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कारितास नेपालकी भी आर पी गौमती महतोको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भी आर पी सृजना कंडेलले गर्नुभएको थियो । कार्यक्रममा साफविन योजना लागू भएका पालिकाका कृषि शाखा प्रमुख तथा प्रतिनिधि किसानहरुको सहाभागिता रहेको थियो ।
