नेपाल बन्दः ठाउँठाउँमा बम र आगजनी




कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए ।

बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन ।

राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

 

दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

मंगलबार बिहान शंकास्पद रुपमा निस्केका काठमाडौँको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई र एकजना ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

 



सम्बन्धित
Loading...