पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, बुटवल पाल्पा सडक अझै खुलेन

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ ।
निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
बुटवल पाल्पा सडक अझै सुचारु हुन सकेन
बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक अझै सुचारु हुन सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाउने प्रयास जारी रहे पनि रातिदेखि परेको वर्षाले काम गर्न समस्या हुँदा बाटो खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।