नवलपुरको यातायातमा टाइमकार्ड लागू, बाटोले गर्दा कार्यान्वयनमा समस्या
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले यात्रुहरुलाई आवतजावतमा सहज होस भनेर यातायातमा टाइमकार्ड लागू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुर, जिल्ला ट्राफिक कार्यालय नवलपुरको सक्रियतामा टाइम कार्ड लागु भएको हो । तथापि बाटोका कारण टाइम कार्ड लागु हुन समस्या भएको छ ।
गैडाकोट–कावासोती (डण्डा) को लागि १ घण्टा १५ मिनेट र गैडाकोट दाउन्नेको लागि २ घण्टा ३५ मिनेट सयम निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
तिवारीले भने – टाइम कार्ड लागू गरिएको छ तर बाटोका कारण समयमै सवारी साधन पुग्न सकेका छैनन् । लागु गरेको र नगरेको उस्तै उस्तै भएको छ ।
बुटवल नारायणगढ सडक विस्तारको क्रममा सडक भत्काएर अहिले जताततै खाल्डाखुल्टी र धुलाम्स सडक रहेको छ । जसले गर्दा यातायात आवतजावतमा निक्कै समस्या हुने गरेको छ । बाटोको कारण यहा समान्य अवस्थामा १ घण्टामा पार गरिने दुरी २ घण्टा भन्दा बढी लाग्ने गरेको छ ।

गैडाकोटमा रिफ्रेस सेन्टर
टाढाबाट आएका सवारी साधनका चालक थाकेका कारण सवारी साधन दुर्घटनामा पर्न सक्ने भएकोले त्यसलाई रोक्न नवलपुरको गैडाकोटमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ ।
यस अघि कावासोतीमा स्थापना गरिएको भए पनि अहिले त्यसलाई गैडाकोट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । तिवारीले भने – कावासोतीमा चिया, नास्ता, शौचालय लगायतको समस्याका कारण गैडाकोट सारिएको छ ।

यात्रु सहायता कक्ष स्थापना
नवलपुरमा दशै लगायतका चाडपर्वलाई लक्षित गरी ५ स्थापनामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
कावासोती, गैडाकोट, रजहर, दुम्किबास र दाउन्नेमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
दशैंमा यात्रुसँग बढी भाडा लिने, यात्रुलाई दुःख दिने लगायतका समस्या हुने भएकोले यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।