कावासोती र मध्यविन्दु नगरपालिकाले प्लाष्टिकको फूलमाला विक्रीमा प्रतिबन्ध
रामकुमार श्रेष्ठ
कावासोती । पूर्वी नवलपरासीमा रहेको कावासोती र मध्यविन्दु नगरपालिकाले तिहारमा लक्षित गरी प्लाष्टिकको फूलको माला विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । कावासोती नगरपालिकाले जारी गरेको सूचनामा कावासोती नगरपालिका अन्तरगत रहेको विभिन्न स्थानमा मखमली, सयपत्री लगायतका फूल खेती गरिएकोले त्यसलाई प्रोत्साहन गर्न सबैलाई अनुरोध गर्दै अनुगमनको क्रममा कही कतै प्लाष्टिकका फूल माला विक्री गरिएको भेटिए कानुनी कारवाही गरिने जनाएको छ ।
त्यसैगरी मध्यविन्दु नगरपालिकाले पनि आज एक विज्ञप्ति जारी गरी नगरपालिका भित्र प्लाष्टिक जन्य फूल र फूलका माला विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । मध्यविन्दु नगरपालिकाले पनि अनुगमनको क्रममा यस्तो भेटिए कारवाही गरिने जनाएको छ ।
नगरपालिकाहरुले यस्तो सूचना जारी गरेपनि बजारमा भने आज प्रसस्त मात्रामा प्लाष्टिकका फूलका माला विक्री वितरण गरेका थिए ।