नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

नवलपुर । नेपाल मगर संघ नवलपुरले आयोजना गरेको प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्वको समय अवधि २ दिन थप गरिएको छ ।
मंसिर १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको महोत्सवमा दर्शकको सहभागिता बढेपछि महोत्सव २ दिन थप गरेर १३ गतेसम्म पुर्याइएको आयोजक संस्था नेपाल मगर संघ नवलपुरले जनाएको छ ।
महोत्सवमा अहिलेसम्म ७० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा आज सम्झना लामिछाने मगर, संजीप सिंह, भरत बोगटी, गुड्डी तामाङ, सितल पौडेल, हिरन थापा लगायतको कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवको अन्तिम दिन लाहुरेको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा २ लाख पुरस्कार राशीको कौराहा नाच प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ ।
