रेशम फिरिरी नेपालद्वारा लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैययाँको अक्षयकोष स्थापना
प्रिय धन–
नवलपुर, २३ पुस २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु ७ चोरमारामा रहेको रेशम फिरिरी नेपाल संस्थाले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो । यस्तै रेशम फिरिरी नेपालले नै साउण्ड बक्स पनि प्रदान गरेको भुसालले जानकारी दिनुभयो ।
मध्यविन्दु नगरपालिकामा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको रेशम फिरिरी नेपालले विद्यार्थीको शैक्षिक अभिभावकत्वसहित भौतिक तथा आर्थिक रुपमा समेत सहयोग गर्दै आईरहेको छ । विपन्न परिवारका बालबालिका थोरै आर्थिक अभावमा पनि शिक्षाबाट वंचित हुनुपरेको भन्दै रेशम फिरिरी नेपालका अध्यक्ष दिपक पंगेनीले शिक्षाको विकासबाट मात्र समाज रूपान्तरणको परिकल्पना गर्न सकिने बताउनुभयो । शिक्षाले समाजमा आमुल परिवर्तन ल्याउने भन्दै पंगेनीले रेशम फिरिरी नेपालले शैक्षिक क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।
आज नै रेशम फिरिरी नेपाल संस्थाले ३० जना बालबालिकालाई न्यानो स्वीटर र ५० जना बालबालिकालाई शैक्षिक सामाग्री कापी र कलम समेत प्रदान गरेको थियो । एक विशेष कार्यक्रम आयोजना गरी आज अक्षयकोषको चेक र स्पीकर बक्स हस्तान्तरण तथा न्यानो स्वीटर एवं कापीकलम वितरण गरेको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले बताउनुभयो । करिब एक दशकदेखि रेशम फिरिरी नेपालले खानेपानी , शौचालय , पंखा , गार्डेन चियर, लत्ता कपड़ा, शैक्षिक सामाग्रीमा निरन्तर सहयोग गर्दै आएकोमा लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेले संस्थाको थप प्रगतिको कामना सहित धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेशम फिरिरी नेपालका सचिव तारा प्रसाद न्यौपाने, विद्यालयका बिभिन्न समितिका पदाधिकारी , अभिभावक लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा मध्यविन्दु ७ का वडा सदस्य तथा नगरकार्यपालिका सदस्य शिव कुमारी मल्ल , रेशम फिरिरी नेपालका अध्यक्ष दिपक पंगेनी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम प्रसाद पोखरेल , अम्रसा सामुदायिक वन समूहका अध्यक्ष लाल बहादुर मल्ल , टोल संयोजकका रुपमा दधिराम सापकोटा लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षता तथा कार्यपालिका सदस्य शिव कुमारी मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक प्रिय धनले गर्नुभएको थियो ।
यस्तै आज नै मध्यविन्दु नगरपालिकाबाट करेसाबारी निर्माण तथा फूलबारी निर्माण कार्यक्रमका लागि लक्ष्मी आदर्श आधारभूत विद्यालयका अभिभावकले श्रमदान समेत गरेका थिए ।



