कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने


रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । विहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पंक्षि समाजले यस्तो जानकारी दिएको हो ।



पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चरा महोत्सव माघ २६ गतेदेखि २८ गतेसम्म ३ दिन कावासोती १३, नवलपुरमा हुने भएको हो । उत्सवको सहआयोजकको रुपमा कावासोतीको जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेशन सोसाइटी रहेको छ ।

नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको भए पनि त्यसलाई स्तर उन्नति गरी सन् २०१९ मा पहिलो पटक पहिलो नेपाल चरा उत्सव भएको थियो । दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेका अनुसार बर्षेनी उत्सव गर्नु पर्ने भए पनि कोभिडका कारण रोकिएकोमा यस बर्षदेखि पुन शुरु गर्न लागिएको हो ।




उत्सवको ४ हजार ५ सय स्थानीय र विद्यार्थीहरुले अवलोकन गर्ने र पंक्षि तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा संघसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलंका, मलेसिया, हङकङ, सिंगापुर, फिलिपिन्स, जापान, स्वीजरल्याण्ड, अमेरिका, आयरल्याण्ड, बेलायत, ताइवान लगायतका देशहरुबाट टुर अपरेटर लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

उत्सवले चरा र वासस्थानको संरक्षण र जनचेतनाका साथसाथै सरोकारवालाहरुको पर्यटन व्यवसायीमा टेवा पुग्ने आयाजकले विश्वास लिएको सहआयोजक बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टिकाराम गिरीले बताए ।

उत्सवमा पंक्षि पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पंक्षीकला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पंक्षि अवलोकन, गिद्धका गतिविधि अवलोकन, जंगल सफारी, लोकसास्कृतिक प्रस्तुति, पंक्षी संगोष्ठी, प्यानल छलफल, विविध स्टल प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका गतिविधिहरु रहने सह अयोजक संस्था जटायु रेष्टुरेन्टका व्यवस्थापक धनबहादुर चौधरीले बताए ।

नेपालमा ८ सय ९४ प्रजातिका पंक्षिहरु पाइन्छन् भने नवलपुरका नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ५ सय ६५ प्रजातिका चराहरु पाइने गरेको पंक्षि संरक्षणको क्षेत्रमा काम गर्दै आएका धनबहादुर चौधरीले बताए । उनका अनुसार नेपालमा विश्वमै दुलर्भ मानिएका ४३ प्रजातिका चराहरु पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास विश्वमै दुर्लभ मानिएका ३९ प्रजातिका चराहरु पाइने गर्दछ ।



सम्बन्धित
Loading...