सुनकाण्डमा कपिलवस्तुबाट पक्राउ परे महरा, प्रहरीले पुर्यायो सिआइबी कार्यालय




सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो ।

महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान निकटस्थले दिएको सल्लाह नमानीकन महरा रातो गाडीमा गन्तव्यमा हिँडेका थिए । प्रहरीले रुपन्देहीमै उनलाई पक्राउ गर्न खोजे पनि ब्यारियरमा नरोकी गाडी हुइँक्याइएको थियो । तर पछि ब्यारियर नै रोकेर समातिएको हो ।




पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएको प्रहरी स्रोतले बताएको छ । ९ बजे उड्ने यति एयरलाइन्समा उनलाई काठमाडौं फर्काउन खोजिएको थियो । तर, जहाज डिले भयो ।

भैरहवा विमानस्थल पुगेपछि पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । सोही समयमा महराले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मोबाइलमा कुरा गरेका थिए । प्रचण्डले ‘आउनुहोस्, प्रहरीले समातेपछि यही बसेर कुरा गरौला, अब रोक्ने कुरा भएन’ भनेको स्रोतले जनाएको छ ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरु गरेका थिए । गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ ।

त्यसपछि महरा भाग्न खोजेका थिए । उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो । त्यसपछि प्रहरीले कडाइ गरेको थियो ।

स्रोतका अनुसार महरा भारततर्फ जानको लागि तयारी गरेका थिए । यो सूचना पाएको प्रहरीले नाकामा कडाइ गरिरहेको चाल पाएपछि महरा अर्को बाटोबाट लागेका हुनसक्ने अनुमान गरिएको छ । राजमार्ग छाडेर हुलाकी मार्ग प्रयोग गरेकाले यो सम्भावना बलियो रहेको प्रहरी अधिकृत बताउँछन् ।

विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।

कपिलवस्तुबाट पक्राउ परेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालय लगेको छ।

उनलाई पक्राउपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरमा काठमाडौं ल्याइएको हो। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृह मन्त्रालयले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।



सम्बन्धित
Loading...