बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता




काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ । त्यसबारे मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय र निकायको निर्णयबिनै सरकारी जग्गा कारखानाको नाम दर्ता भएको देखिएकाले त्यसलाई सरकारकै नाममा फिर्ता गरेर दर्ता गर्ने निर्णय भएको भूमि व्यवस्था मन्त्री बलराज अधिकारीले बताए । ‘२०४४ सालमा दुई पटक गरी १० रोपनी सरकारी जग्गा बाँसबारी छाला जुत्ता कारखाना र च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको रहेछ । त्यसलाई फिर्ता गर्ने र उक्त जग्गा सरकारकै नाममा दर्ता गर्ने निर्णय भएको छ,’ उनले भने ।




मालपोत ऐन २०३४ को दफा २४ को २ बमोजिमको व्यवस्थाअनुसार साबिकको बाँसबारी कारखाना र च्याम्पियन फुटवेयरको नामबाट १० रोपनी जग्गा फिर्ता गरि सरकारी जग्गा कायम गरिएको मन्त्रालय प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टले जनाए । ऐनको उक्त दफामा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने उल्लेख छ । त्यस्तो जग्गाको व्यक्ति विशेषका नाममा रहेको दर्ता लगतसमेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्नेछ भनिएको छ । उक्त व्यवस्थाअनुसार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौं डिल्लीबजारले बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको भट्टले जनाए ।

मालपोत कार्यालयले बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया माघ अन्तिम साता सुरु गरेको थियो । त्यतिबेला च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको थियो । सूचनामा जग्गामा आफ्नो दाबी प्रस्तुत गर्न प्रमाणसहित उपस्थित हुन भनिएको थियो । फुटवेयरले दाबीका प्रमाण पेस गर्न नसकेपछि मन्त्रालयसँग समन्वय गरेर सरकारको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया थालिएको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले बताए ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उक्त जग्गा सरकारको मातहत ल्याउन निर्देशन दिएका थिए । उनले बाँसबारी जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका थिए ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसँग बयानसमेत लिएको छ । त्यसको अघिल्लो दिन सीआईबीले चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । सभामुखलाई जानकारी गराएको भोलिपल्ट जिल्ला सकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको रोहवरमा बयान लिइएको हो ।

कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो । उनीसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको दाबी छ । २०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो ।

यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको सीआईबीको अनुसन्धानबाट पत्ता लागेको थियो । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । बाँसबारीको २५ प्रतिशत सेयर पनि लिएपछि च्याम्पियन फुटवेयर लिमिटेडलाई प्रालि बनाइएको थियो ।

यस क्रममा चौधरी परिवारका अरू सदस्य हटेर अरुण र पत्नी शिलाको स्वामित्व कायम भएको थियो । २०६६ कात्तिक २५ मा डिल्लीबजार मालपोत कार्यालयबाट हालसाबिक गरेर यो जग्गा अरुण चौधरीसहितका नाममा कायम भएको देखिएको थियो । च्याम्पियन फुटवेयर प्रालि अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ बनेकामा यो जग्गामा अहिले चाँदबाग स्कुल चलाइएको छ । बाँसबारीको ८३ रोपनीमध्ये १० रोपनी जग्गा च्याम्पियन हुँदै चौधरी समूहमा गएपछि बाँकीमध्ये ५२ रोपनी जग्गा २०५२ भदौमा गंगालाल अस्पतालका लागि छुट्याइएको थियो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय र बाँसबारी क्लबले पनि बाँसबारीको जग्गा भोगचलन गरिरहेका छन् ।



सम्बन्धित
Loading...