ढोलाहिटी हत्या प्रकरणमा संलग्न आरोपी दुई वर्ष जेल बसेर निस्केका युवक

काठमाडौँ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्यामा संलग्नमध्येका एकजना यसअघि पनि जेल बसेर निस्केको थाहा भएको छ । डि–पोपिना रेस्टुरेन्टका सञ्चालक विजय राई लागुऔषध मुद्दामा जेल बसेर निस्केका हुन् ।
खोटाङ घर भएका ३१ वर्षीय विजय राई लागुऔषध मुद्दामा २ वर्ष जेल बसेर निस्केको ‘क्रिमिनल रेकर्ड’ भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
प्रहरी वृत्त थानकोटले विजयलाई ०७५ मा लागुऔषध मुद्दा चलाएको हो । सो मुद्दामा जेल भुक्तान गरेर निस्केपछि उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
चक्कु प्रहारबाट ११ फागुनमा दुईजनाको मृत्यु भएको थियो । विवाद भएपछि प्रहरीलाई खबर गर्नुको साटो रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो । हत्या आरोपमा प्रहरीले विजय राई, रेस्टुरेन्टका अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न एकजना फरार रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
ढोलाहिटी ग्याङ फाइट प्रकरणमा पक्राउ पर्नेमा दुई जना होटेल सञ्चालक

ललितपुर । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा पक्राउ पर्ने दुई जना होटेल सञ्चालक भएको खुलेको छ । यस्तै सो प्रकरणमा अन्य तीन जना पनि पक्राउ परेका छन् ।
मङ्गलवार ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेस्टुरेन्टमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पूजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले घटनामा संलग्न रहेका एक आरोपी अझै फरार रहेको बताए ।
पक्राउ पर्ने होटेल सञ्चालकमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटेल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राई छन् ।
यस्तै पक्राउ पर्ने अन्यमा जिल्ला भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छेविहाङ राई छन् । वारदात पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ ।
अनुसन्धानको लागि अन्य ८ जना व्यक्तिहरू पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले पुरानो रिसिइबी र आफूलाई नराम्रो व्यवहार गरेर बोलेको र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ ।
तिहारदेखि नै थियो दुई समूहको
तिहारदेखी साहिल श्रेष्ठ र छेङ्गवीहाङ राईको बिचमा विवाद सुरु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘साहिल श्रेष्ठले छेङ्गवीहाङलाई होच्याएको विषयमा विवाद सुरु भएको देखिन्छ,’ एसएसपी खनाल भन्छन्–‘दुई महिनाअघि पनि विवाद भएको र सो विवाद हत्यासम्म पुगेको देखिन्छ ।’
छुरी प्रहारपछि पुजनलाई सुमेरु अस्पताल र रोबसलाई पाटन अस्पतालमा पुर्याइएको थियो । अस्पतालबाट घटनाबारे खबर आएपछि अनुसन्धान अधिकृतहरू आरोपीहरूको खोजीमा जुटेका थिए । करिब ६ घण्टामा हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
त्यसबेला घटनास्थलमा उपस्थित थप ८ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए । तिहारमा विवाद गर्ने २९ वर्षीय साहिल श्रेष्ठ सुनसरीको धरान उपमहानगरपालिका–६ घर का स्थानीय हुन् । ललितपुर–१४ सोभाहिटी बस्ने उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।