सिमलताल पहिरोः १ महिला, १ बालक सहित १५ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आज थप एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान अन्दाजी ३०/३५ बर्षीय पुरुषको शव नवलपुरका गैडाकोट ७ गैरी नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा शव भेटिएको हो । यो सहित उक्त दुर्घटनामा परेका १५ जनाको शव फेला परेको छ ।
उक्त शव निकालेर भरतपुर अस्पताल चितवन पोष्टमार्टमका लागि पठाइएको छ । शवको सनाखत हुन सकेको छैन ।
भेटिएका १५ जना शव मध्ये ९ जनाको सनाखत भएको छ भने ६ जनाको अझै सनाखत हुन सकेको छैन ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ ख– २४९५ नम्बरको बस चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर वेपत्ता भएको थियो । २ वटा बसमा गरेर ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले नाम सार्वजनिक गरेको छ । वेपत्ता बस र अझै ५० जना यात्रु फेला पर्न सकेका छैनन ।
अहिलेसम्म पूर्वी नवलपरासीमा ११ जना, चितवनमा ३ जना र पश्चिम नवलपरासीमा १ जना गरी १४ जनाको शव भेटिएको छ । शव भेटिएका मध्ये सर्लाही जिल्लाको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसुर माझी, चितवन जिल्लाको माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भरतपुर महानगरपालिका २२ निवासी २३ बर्षीय सुदीप विक, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल साह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, रौतहटको जमुनामाई गाउँपालिका ४ निवासी राहुम मिया र रौतहट जिल्लाको परुवा नगरपालिका ६ निवासी ४० बर्षीय ऋषिकुमार सिंहको सनाखत भएको छ ।
४ जना पुरुष, १ जना महिला र १ जना बालक गरी ६ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
