नवलपरासीमा सशस्त्र प्रहरीद्वारा ३३ लाखबराबरका माेबाईल बरामद

गाैरीशंकर जयसवाल –
परासी, १९ साउन: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलेर लैजादै गरेकाे माेबाईल बरामद गरेकाे छ ।नवलपरासीकाे सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएकाे गस्ती टाेलीले शनिबार बिहान ८८ थान माेबाईल बरामद गरेकाे हाे ।
भन्सार छलेर लैजादै उक्त ३३ लाखबराबरकाे माेबाईल मूल्य रहेकाे शसस्त्र प्रहरीले जनाएको छ । भारतीय माेटरसाईकलमा चढेर आएका व्यक्तीले झाेलामा राखेर लैजादै गरेकाे माेबाईल बरामद गरिएकाे सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए ।
बरामद गरिएका माेबाईलमा ४० थान आईफाेन र ४८ थान पाेकाे नामक ब्राण्डका रहेका छन् । बरामद भएका माेबाईलकाे मूल्य ३२ लाख ७० हजार रहेकाे छ ।
बरामद माेबाईल र माेटरसाईकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएकाे छ ।
काराेबारमा संलग्न व्यक्ति भने गस्ती टाेलीले घेरा हाल्ने संकेत पाएपछि झाेलासहितकाे माेटरसाईकल छाडेर भागेकाे डिएसपी साउदले बताए । साउन महिनाकाे अहिलेसम्म भन्सार छलि ल्याएका लत्ता कपडा, चिनी, हार्डवेयर लगायतका कुल ८५ लाख ५१ हजारका सामान बरामद गरेर भन्सार पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।