दाउन्नेको सडक एकतर्फी खुल्यो
नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार अवरुद्ध सडक खुलाउन रातिदेखि प्रयास गरिएको र अहिले विहान ९ बजेबाट एकतर्फी खुलेको हो ।
सडक डेढ फुट तल भासिएको थियो । सडक भासिएको ठाउँमा माटो र गिटी भरेर बेस तयार गरी सडक शुरु गरिएको हो ।
बाटो दुई तर्फी सञ्चालन गर्ने प्रयास भईरहेको र आजै बाटो दुई तर्फी नै सञ्चालनमा आउने बोहोराले बताए ।