देवचुलीका सामुदायिक विद्यालय खुले, विद्यालय खोल्ने शिक्षकहरुमाथि चौतर्फी दबाब

नवलपुरको देवचुली नगरपालिका भित्र रहेका केही सामुदायिक विद्यालयले आजबाट विद्यालयमा पठनपाठन शुरु गराएका छन् ।
देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमनको क्रममा केही विद्यालयहरुमा पठनपाठन भएको पाइएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा चलेको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय खुल्न सकेको छैन ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुलीको भिमसेन मावि, सूर्यकिरण प्रावि, दिव्यज्याति आधारभूत विद्यालय विद्यालय, शारदा आधारभूत विद्यालय लगायतका ५ वटा विद्यालयमा आइतबारबाट पठनपाठन शुरु भएको हो । शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँग नगरपालिकाले गरेको छलफल पछि आजबाट विद्यालय सञ्चालनमा आएको उपप्रमुख पार्वता तिवारीले बताइन् ।
त्यसैबीच नवलुपरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सूचना प्रकाशित गरी पालिका भित्रका शिक्षकहरुलाई विद्यालय खोलेर पठनपाठन शुरु गर्न आग्रह गरेका छन् ।
नवलपुरको हुप्सेकोट, कावासोती, देवचुली लगायतका पालिकाहरुले विज्ञप्ति नै जारी गरेर विद्यालय खोल्न शिक्षकहरुसँग आग्रह गरेको थिए ।
त्यसैगरी आज मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले सूचना जारी गरी बैशाख १५ गतेबाट विद्यालयमा पठनपाठन गराउन शिक्षकहरुलाई आग्रह गरेको छ ।
यसैबीच नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुरले पनि आज विज्ञप्ति जारी गर्दै आन्दोलन रत शिक्षकहरुको माग पुरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्कन अपिल गरेको छ ।
अभिभावक संघ नवलपुरका अध्यक्ष युवराज वाग्ले र सचिव दुर्गाप्रसाद भुसालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शिक्षकहरुको माग यथाशक्य छिटो पूरा गर्न माग गर्दै विद्यार्थीहरुको पढ्न पाउने अधिकारको हनन नगरिदिन शिक्षकहरुलाई अपिल गरेको हो ।
अभिभावक संघ नवलपुरका अध्यक्ष युवराज वाग्लेले वालबालिकाको पढ्न पाउने अधिकारबाट बञ्चित गराउने छुट कसैलाई नभएको पनि बताए ।
यता नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले भने आफूहरुको आन्दोलनका क्रममा भएको क्षतिको भरपाइ हुने गरी पछि बालबालिकालाई पढाउने भन्दै अभिभावकहरुलाई आफ्नो आन्दोलनमा समर्थन गर्न आग्रह गरेका छन् ।