दाउन्नेको सडक मर्मतका लागि थप १५ दिन राति ६ घण्टा बन्द




नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि बैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५ दिन बाटो बन्द गर्ने जनाएको हो ।

निर्देशनालायले मंगलबार एक सूचना निकाली बैशाख ३१ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिने जनाएको छ । यसअघि चैतमा ५ दिन दिउँसो चार घण्टा सवारी आवागमन रोकेर काम गरिएको थियो ।




बाटो बन्द भएको बेला बुटबल तर्फ जाने बस, मिनिबस, माइक्रो, बस तथा साना सवारी साधनलाई होङ्सी सिमेन्ट गेट दुम्किबास बजार खण्डमा र नारायणघाट तर्फ जाने सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिने आयोजनाले जनाएको छ ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।

नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।

१७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

त्यस्तै बुटबलतर्फ जाने मालबाहक सवारी साधानलाई चोरमारा–आरुणखोला बजार खण्डमा र नारायणघाट तर्फ जाने मालवाहक साधनलाई ज्यामिरे हकुई खण्डमा रोकिने छ ।

घाम लाग्दा दुई फिटसम्म धुलो र हल्का पानी पर्ने बित्तिकै हिलोले गाडी गुड्नै नसक्ने अववस्था रहेकोमा यो खण्ड भएर यात्रा गर्नेहरुले थप सास्ती पाउने भएका छन् । दाउन्ने खण्डको १४ किलो मिटर पार गर्न घण्टौं लाग्ने गरेको यात्रुले बताएका छन् ।

सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ ।

पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाट तर्फ आउने सवारी साधानले बुटबलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहदुर कुँवरले बताए ।



सम्बन्धित
Loading...