नारायणी नदीमा माछा मार्न गएका दराई मृत फेला 




रामकुमार श्रेष्ठ –

नवलपुर । नारायणी नदीमा माछा मार्न गएको नवलपुरको गैडाकोट नगरपालिका ७ निवासी ४० बर्षीया यमलाल दराई मृत फेला परेका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोट ९ थुम्सी स्थित नारायणी नदीमा माछा मार्न गएका दराई नदीले बगाई वेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा आइतबार विहान ९ बजेतिर मृत अवस्थामा थुम्सी नजिकै नारायणी नदी किनारमा फेला परेको हो ।

उनको शव आवश्यक मुचुल्का तयार पारी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीसँग माछा मार्न गएका अन्य साथीहरु भने सुरक्षित रहेका छन् ।

 

जंगली च्याउ खाँदा नवलपुरको गैडाकोट नगरपालिका १३ शिख्रौलीमा र गैडाकोट ११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना विरामी परेका छन् ।

बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी भएकाहरुलाई गैंडाकोट नगर अस्पताल भेडाबारी समान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ ।

च्याउ खाएर नवलपुरको गैडाकोट १३ शिख्रौली कैलाश टाल निवासी ४५ बर्षीय शसी सिर्पाली, २० बर्षीया पूर्णिमा सिर्पाली, ५० बर्षीया शतदेवी लाम्गादे, २७ बर्षीया दिलकुमारी सिर्पाली, २५ बर्षीया कमला हर्नेल, गैंडाकोट ११ मुकुन्दसेन टोल निवासी ४५ बर्षीया इन्द्रमाया चितौरे, २३ बर्षीया तिर्सना चितौरे र २५ बर्षीय दिनेश चितौरे विरामी परेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सुधार रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...