देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु, पाँच घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।
बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षिय कुल प्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार रुपन्देहीको बुटवल गोलपार्कका ३६ वर्षिया लक्ष्मी राइ, २५ वर्षकी इसु राइ र सोही ठाउँका २५ वर्षिया स्नेहा परियार तथा भ्यानमा सवार विद्यार्थीहरु देवचुली–१७ की १० वर्षिया आयुसा गौतम र ६ वर्षकी सोखनिया रोक्का घाइते भएका नेपालले जानकारी दिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र एम्बुलेन्समा आएका बिरामीहरुलाई अन्य एम्बुलेन्समा राखी चितवन पठाइएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।
नारायणघाट–बुटबल सडक कालाेपत्रे भएसँगै नवलपुरमा दुर्घटना अत्याधिक बढेको छ । नेल अनुशासन विपरित तिब्र गतीमा सवारी साधन चलाउँदा यहाँ हरेक दिन सवारी दुर्घटना भइरहेका छन् ।