पुराना पुलमा १० टन माथि प्रतिबन्ध, प्रहरीद्वारा पुलको सुरक्षाका लागि पहरा




रामकुमार श्रेष्ठ –

नवलपुर । शुक्रबार साँझबाट मर्मत पछि सञ्चालनमा आएको चोरमाराको गिरुवारी खोलाको पुल र जीर्ण अवस्थामा रहेको अरुणखोलाको अरुणखोला पुलमा प्रहरीले २४ घण्टे पहरा दिएको छ । यहाँका दुई वटा पुलमा सडक डिभिजन कार्यालय भरतपुरले सूचना बोर्ड नै राखेर पुलले धान्न सक्ने अतिधकतम वजन ४० टन मात्र रहेको र अधिकतम प्रति एक्सल १० टन मात्र बोक्न पाइने उल्लेख गरेको छ ।




सूचनामा पुल पुरानो रहेको र नयाँ पुल निर्माणाधिन अवस्थामा रहेकोले हाललाई मालवाहक सवारी ट्रक÷ट्रेलरको हकमा एक पटकमा एकतर्फी एक मात्र सवारी गुड्ने गरी पुलको बीचभागबाट आवागमन हुनका लागि तोकिएको भन्दा भार सीमा नबढ्ने गरी यातायात सञ्चालन हुन अनुरोध गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले प्रहरीले वारी र पारी दुवैतर्फ पुलको सुरक्षा दिईरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आलोपालो गरेर खटेको ढकालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको चोरमाराको गिरुवारी खोलामा भाँचिएको पुल शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।

पुल मर्मतको काम सकिए पछि शुक्रबार साँझबाट पुल सञ्चालन आएको हो ।

गत बैशाख २९ गते अधिक भार बोकेको सिमेन्ट उद्योगको ट्रकको कारण गिरुवारी खोला पुलमा क्षति भएको थियो ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ ।

चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाका अनुसार दुम्किबासको विनयी खोलाको अन्तिम स्पानमा आज ढलानको काम सकिएसँगै पुल निर्माणको काम सकिएको हो ।

उक्त पुल निर्माण सम्पन्न भएसँगै अबको २८ दिनमा पुल माथिबाट सवारी साधन सञ्चालनमा ल्याइने झाले बताए ।

गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा पुल निर्माण सम्पन्न भएसँगै बर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ ।

यसैबीच शुक्रबार दिउँसो नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको सवारी साधन गएराति देखि डाइभर्सन मर्मत पछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।



सम्बन्धित
Loading...