जंगल सफारीको नयाँ गन्तव्य बन्दै नवलपुर




रामकुमार श्रेष्ठ –

नवलपुर । जंगल सफारीका लागि उपयुक्त गन्तब्य हो चितवन राष्ट्रिय निकुञ्ज । चितवन राष्ट्रिय निकुञ्जले नवलपुर, चितवन र मकवानपुर जिल्लालाई ओगटेको छ । त्यो मध्य नवलपुर जिल्ला अहिले जंगल सफारीका लागि नयाँ गन्तव्य बनेको छ ।




चितवन, मकवानपुर र नवलपुर जिल्लामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भन्ना साथ चितवन जिल्लालाई केन्द्रविन्दु मान्ने गरिन्छ । चाहे त्यो जंगल सफारीको हिसाबले होस वा पर्यटकीय दृष्टीकोणले लाभ लिने कुरा नै किन नहोस् त्यति मात्र होइन चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नै चितवन भित्र नै रहेको छ । तथापि अहिले चितवन राष्ट्रिय भित्र नवलपुर जिल्ला जंगल सफारीको नयाँ गन्तव्य बनेको छ ।

यहाँ निकुञ्ज आसपासको क्षेत्रहरुमा होम स्टेहरुका साथै ठूलाठूला स्टार होटलहरु पनि सञ्चालनमा आएपछि नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने नयाँ गन्तव्य बनेको हो ।

चितवनको तुलनामा नवलपुरमा अहिले गैडा, बाघ, भालु, हरिण, मृग लगायतका जंगली जनवारहरु बढी रहेका कारण यहाँ जंगल सफारी गर्न आउने पर्यटकको नयाँ गन्तव्य बनेको अमलटारी होम स्टे भिलेजका सञ्चालक एवम् होम स्टे महासंघका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनियाले बताए ।

कोभिडका कारण भएको लकडाउन भन्दा पहिला यहाँ आन्तरिक पर्यटकको तुलनामा वाह्य पर्यटक बढी आउने गरे पनि अहिले भने आन्तरिक पर्यटक बढी आउने गरेका छन् । यहाँ पर्यटकीय सिजनमा कावासोती आसपासको क्षेत्रमा मात्रै दैनिक ५० टोलीसम्म जंगल सफारी गरेर वन्यजन्तु हेर्न आउने गरेको कावासोती १५ का स्थानीय होटल व्यवसायी एवम् नेचर गाइड ज्ञानबहादुर बोटेले जानकारी दिए ।

जंगल सफारी गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकका कारण नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा रहेका होम स्टे तथा होटवल व्यवसायीहरुमा पनि व्यापार राम्रो हुने गरेको छ । तटीय क्षेत्रमा रहेका होम स्टे तथा होटलहरुको मुख्य आकर्षक नै जंगल सफारी रहेको कावासोती १० का वडा अध्यक्ष एवम् यहाँका चिलाहा रतौल थारु सामुदायिक होम स्टेका सञ्चालक टेक नारायण महतोले जानकारी दिए ।

यहाँ सिजनमा होस वा अफसिजन जुन सुकै बेला कुनै पनि जंगल सफारी गराउने टोली खाली बस्नु परेको अवस्था छैन भने नयाँ बर्ष दशैतिहार जस्ता चाडपर्वहरुमा झन भ्याइ नभ्याइ हुने गरेको छ । यहाँका आन्तरिक पर्यटक देखि वाह्य पर्यटकहरुको जंगल सफारीको नयाँ गन्तव्य बनेको नवलपुर जिल्लालाई जंगल सफारीसँग यहाँ रहेका अन्य पर्यटकीय क्षेत्रलाई जोडेर प्रचार प्रसार गर्न सके थप प्रभावकारी हुने देखिन्छ ।

 



सम्बन्धित
Loading...