किन गरे ९० बर्षीय जेष्ठ नागरिकले ७६ बर्षीया आफ्नै श्रीमतीको हत्या

रामकुमार श्रेष्ठ –
नवलपुर । लामो समयदेखि श्रीमती ओछ्यानमै थलिएपछि श्रीमतीले आफ्नो मृत्यु पछि दुःख पाउँछ भनेर श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना बाहिरिएको छ ।
यो घटना हो नवलपुरको देवचुली नगरपालिका ३ आम्बासको । विहीबार राति नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए ।
हत्याको आरोपित दिलबहादुर थापा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका थापालाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । श्रीमती जमुना थापाको घटना स्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
श्रीमती पछिल्लो ६ महिनादेखि विरामी भएर ओछ्यानमै थला परेका कारण आफ्नो निधन पछि श्रीमतीले दुःख पाउँछ भनि उनले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष सुरुवाती वयान दिएका छन् ।
हत्याका आरोपी श्रीमान्ले प्रहरी समक्ष आफूले हत्या गरेको स्वीकार गरेको र श्रीमतीको दुःख देख्न नसकेर मुक्ति दिएको बताएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी नवलपुरको गैडाकोट १२ हर्कपुर चोकमा कुटपिटबाट एक जना घाइते भएका छन् । दुई जना युवक र ३ जना युवती भएर गफ गरिरहेको अवस्थामा एक्कासी ४÷५ जनाको समूहमा आएका समूहले आक्रमण गर्दा स्याङजा घर भई हाल चितवनका भरतपुर महानगरपालिका २ निवासी २० बर्षीय विमल कुमाल घाइते भएका हुन् ।
उनको अवस्था सामान्य रहेको र कुटपिटमा सम्लग्नको खोजी भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।