छठमा विराजको ‘साङ्लो’
एक्सन अभिनेताको रुपमा आफ्नो परिचय बनाएका विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मलाई वितरक कम्पनी काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गतेको डेट दिएको छ । विराज उक्त मितिमा फिल्म प्रदर्शन गर्न राजी भएका छन् । प्रदर्शन मितिसहित चाँडै फिल्मको पोस्टर फ्याकिँदैछ ।
यसअघि फिल्मलाई भदौमा प्रदर्शन गर्ने तयारी चलेको थियो । तर, भदौभरी ठूला फिल्मबीच महाभिडन्त हुने भएका कारण सेफ ल्यान्डिङ्ग खोज्दै विराजले ‘साङ्लो’ रिलिज कात्तिकमा पुर्याएका हुन् । अहिलेसम्म कात्तिक १५ मा अन्य कुनै फिल्मले प्रदर्शन मिति घोेषणा गरेका छैनन् । तर, फिल्म प्रदर्शनका लागि छठ उपयुक्त समय भएका कारण यो फिल्मले सोलो रिलिज पाउन भने मुश्किल छ । ![]()

अहिले यो फिल्म सम्पादन टेवलमा छ । किड्नी तस्करीको कथा बोल्ने बताइएको फिल्ममा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेकी छन् । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । त्यसअघि पनि विराजले प्राविधिक कुटेपछि फिल्म विवादमा घेरिएको थियो ।
‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।