विप्लवका कार्यकर्ता शाही पक्राउ

दाङ, २० पुस । दाङ प्रहरीले नेत्र विक्रम चन्द (विप्वल) समुहका एकजना कार्यकर्तालाई आइतवार दिउँसो पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अर्जुन शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका साधा पोशाकका प्रहरीले पश्चिम दाङवाट पक्राउ गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले त्यसको पुष्टि गर्दै शाहीमाथि अनुसन्धान सुरु भएको जानकारी दिए । पक्राउ परेका शाहीमाथि गत स्थानीय तहको निर्वाचनमा तुलसीपुरमा बम विस्फोट गराएको आरोप रहेको प्रहरी स्रोतले बताएको छ ।
वम विष्फोटमा परि तुलसीपुर ११ निवासी म्यादी प्रहरी २३ बर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरनिको मैदानमा सम्बोधन गर्ने क्रममा त्यसको नजिकै अज्ञात समुहले गराएको उक्त बम विष्फोटमा परि अन्य सर्वसाधारणपनि घाइते भएका थिए ।
त्यतिबेला विप्लव समुहले निर्वाचन बहिस्कार गर्न भन्दै ठाउँ ठाउँमा बम विष्फोट गराएको थियो ।