समानताको हक भनेको ‘हात्तीको देखाउने दाँत’ मात्र हो : मुख्यमन्त्री गुरुङ




गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानले समानता र समावेशीताको कुरा गरे पनि कार्यकारी भूमिकामा पुरूषलाई नै प्राथमिकता दिइँदै आएको बताएका छन्।

संविधान बनाउने बेला महिलाहरूले ५२ प्रतिशत प्रतिनिधित्व खोजेको र त्यतिबेला अहिलेका लागि भनेर ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधान राखेको प्रसंग निकाल्दै उनले भने, ‘राज्यका सबै तहमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला राख्ने व्यवस्था भए पनि एकाध स्थानीय तह बाहेक सबैमा पुरूष नै छन्, सबै ठाउँमा महिलालाई उपमा राखियो, सभामुख पुरूष बनाएर महिलालाई उपसभामुख बनाइयो।’




सत्तारूढ दल नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा प्रतिनिधि सभा चल्न सकेको छैन भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू सभामुख हुन पाउनुपर्ने बताउँदै आइहेकी छन्।

सत्तारूढ दलकै स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले समावेशी लोकतन्त्र भनिए पनि अझै यो व्यवहारमा आउन नसकेको बताए।

‘महिलाको क्षमता छैन भन्छन्, यो राज्य स्थापना भएदेखि पुरूषले र एउटा समुदायले मात्र हालीमुहाली चलाएर आए, उनले प्रश्न गरे, अहिले दुई वर्षमा कसरी क्षमता विकास हुन्छ?’

समानताका कुरा कागज र नेताको कुरामा मात्र सीमित भएको भन्दै उनले समानता ल्याउन व्यवहारमा समान अवस्थाको सिर्जना गर्नुपर्ने बताए।

‘समानताको अवसर सिर्जना नगर्दासम्म समानताको हक भनेको फेक कुरा हो’, उनले भने, ‘हात्तीको देखाउने दाँतमात्र।’

गण्डकी प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालयको आयोजना एवं संसदीय पत्रकारिता मञ्च गण्डकी प्रदेशको संयोजनमा शनिबार पोखरामा आयोजित कानुनी पत्रकारिता अभिमुखीकरणको उद्घाटन गर्दै उनले दलहरूले समावेशीता अपनाउन नसके जनताबाट तिरस्कृत हुने बताए ।

‘हिजो कांग्रेस किन ठूलो र बलियो पार्टी बन्यो भन्दा उसले समावेशीतालाई जोड दिएको थियो’, मुख्यमन्त्री गुरुङले भने, मलाई केपी ओलीले यो पनि भनेका थिए कि, उनीहरूले सबै जाति र क्षेत्रलाई मिलाएका थिए, हामीले त्यो मिलाएनौं।’

मुख्यमन्त्री गुरुङले वीपी कोइरालाको पहिलो जननिर्वाचित मन्त्रिपरिषद् र त्यतिबेलाको कांग्रेसमा अवसर र जिम्मेवारी बाँडफाँट समावेशी बनाएको उनले बताए।

‘कृष्णप्रसाद भट्टराईपछि कांग्रेसमा यो सब समाप्त भयो, कांग्रेसका मधेसी हस्ती अर्को पार्टीमा जानुपर्‍यो’, उनले भने, ‘समावेशीता समाप्त गर्दा कांग्रेस के हालत छ तपाईंहरूले देख्नुभएकै छ।’

उनले संसारमा उदार लोकतन्त्रको युग सकिएर समावेशी लोकतन्त्रको युग रहेको भन्दै उनले समावेशीता र संघीयताका विषयमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे।

‘कतिपयले यो किन चाहियो भन्छन्, प्रदेश खारेज हुनुपर्छ भन्छन्’, उनले भने, ‘कतिले बुझेका छैनन, बुझेकाले हिजोदेखिको हालीमुहाली जोगाउन खोज्छन् ।’

नेपालमा लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय, आर्थिक सबै हिसाबले असमान मुलुक रहेको उनले बताए । नेपाल विविधता सहितको समाज रहेको राज्य भएको भन्दै उनले राज्यका सबै अँगमा विविधता झल्कनुपर्ने बताए ।

असमानताले समाजमा कुनै न कुनै द्वन्द्व भइरहने भयो, कसरी समाजमा समानता ल्याउने भनेर नै अहिलेको संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो, उनले भने यो व्यवस्था कागजमा होइन, व्यवहारमा लागु गर्न पत्रकारहरुको भुमिका महत्वपूर्ण हुनुपर्छ ।’

उनले अझै पनि मिडिया एकात्मक र केन्द्रिकृत मानसिकतामा चलेको आरोप लगाए ।

संघीयताले मुलुक टुक्रन्छ भन्नेहरू अहिले सल्बलाउन खोजेको भन्दै उनले राष्ट्रिय एकता भूगोल र माटोमा मात्र नहुने बताए।

‘सबै जनतालाई यो राज्य मेरो पनि हो भन्ने भाव आउनुपर्‍यो, एकता त जनताको अनुहारमा देखिनुपर्‍यो नि’, मुख्यमन्त्री गुरुङले भने, ‘जनताले राज्य आफ्नो भएको अनुभूति नगर्दासम्म राष्ट्रिय एकता हुँदैन।’ @setopati.com



सम्बन्धित
Loading...