धनुषाका पत्रकार आन्दोलित
नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरूमाथि भएको हातपातको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्नका लागि संघर्ष समिति गठन गरेको छ ।
२२ पुसमा सूचना लिन गएका पत्रकारहरूमाथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा कुटपिट तथा दुर्व्यवहार भएको विरोधमा महासंघ धनुषाले आन्दोलनका कार्यक्रम तय गर्न समिति गठन गरेको हो ।
यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्नका लागि ज्ञापन पत्रमार्फत दिएको पाँचदिने अल्टिमेटम समाप्त भएपछि महासंघ आन्दोलनमा उत्रन लागेको हो ।
कुटपिट भएकै दिन प्रहरीले नगरपालिकाबाट सीसी टीभीको फुटेज लिए पनि अहिलेसम्म प्रशासनले कारबाही प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन गर्न लागिएको महासंघ धनुषाले जनाएको छ ।
संघर्ष समितिमा पत्रकार महासंघ प्रदेश २ का महाचिव किरण कर्ण, वीरेन्द्र रमण, अजय अनुरागी, राजेश कर्ण, सुजीत झा, उपेन्द्रभगत नागवंशी, नित्यानन्द मण्डल, मनिका झालगायत प्रेस संगठनका धनुषा संयोजक शैलेन्द्र महतो, प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, प्रेस नेपाल धनुषाका अध्यक्ष अर्जुन मण्डल, प्रेस मञ्च नेपाल धनुषाका अध्यक्ष जयन्त ठाकुर र मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुवास कर्ण छन् ।
समितिले आन्दोलनका कार्यक्रम तय गर्नुका साथै दोषीमाथि कारबाहीका लागि थप दबाब दिन विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्थासँग समन्वय गर्ने निर्णयसमेत गरेको छ ।
पत्रकार कुटपिटसम्बन्धमा विभिन्न राजनीतिक पार्टी, संघसंस्थाहरूले देखाएको सद्भावप्रति धन्यवाद ज्ञापन गर्दै पत्रकारहरूमाथि भएको कुटपिट तथा हातपात घटनाको छानबिन गर्न पत्रकार महासंघको केन्द्रीय मिसन टोली, प्रादेशिक मिसन टोली, राष्ट्रिय मानव अधिकार आयोगसहितका विभिन्न अधिकारवादी संस्थालाई पत्राचार गरी मिसन टोली माग गर्ने निर्णय पनि महासंघले गरेको छ ।
गत मंगलवार जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धमा रिपोर्टिङ गर्ने क्रममा पत्रकारहरूमाथि कुटपिट तथा हातपात भएको थियो ।
कुटपिटबाट कान्तिपुर टीभीका पत्रकार अमरकान्त ठाकुर, एपी वानका पत्रकार विकास साह, एबीसी टीभीका पत्रकार सुमित मिश्र, देशसञ्चार डटकमका राजा झा र उज्ज्यालो नाइन्टी नेटवर्कका सुवास कर्ण घाइते भएका थिए ।