कांग्रेस विवाद : ‘ब्याक’ हुँदै देउवा




कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचक हुने संकेत गरेका छन् । देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत निलम्बनको निर्णय गरेका थिए । सो निर्णयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निरन्तर असन्तुष्ट रहँदै आएपछि देउवाले विवाद समाधानका लागि विधानका धारा निलम्बनको विषयमा लचक हुने संकेत गरेका हुन् ।

‘सभापतिको लक्ष्य नै महाधिवेशन हो, पछिल्ला निर्णयपछि पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका समूह झनै असन्तुष्ट भए । सबैको सुझावपछि सभापतिज्यू विधानका धारा निलम्बनको विषयमा केही लचक हुने गरी तयारी गरिरहनुभएको छ,’ देउवा निकट एक नेताले भने । देउवाले कांग्रेसभित्रको पछिल्ला विवाद समाधानका लागि गत आइतबार बूढानीलकण्ठस्थित निवासमा वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा विवाद समाधानका लागि अग्रसरता लिन भन्दै देउवाले सिटौलालाई आग्रहसमेत गरेका थिए ।
त्यसयता बुधबार र बिहीबार सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधिबीच दुईपटक वार्ता भएको छ ।



सम्बन्धित
Loading...