सभामुखको टुंगो लगाउँदै ओली–दाहाल

सभामुखका उम्मेदवार चयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि सुरु भएको छलफलले भावी सभामुखका विषयमा टुंगो लगाउने अपेक्षा गरिएको छ ।
पाँच दिनसम्म कुनै छलफल नगरेका प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहीबार सभामुख चयनका विषयमा छलफल भएको थियो । छलफलमा सभामुखका भावी उम्मेदवारको टुंगो लगाउने सहमति भएको थियो ।
प्रचण्ड सभामुख आफू पक्षले पाउनुपर्ने अडानमा बसेपछि प्रधानमन्त्री ओली त्यसमा लचक भएका छन् । तर उनले पूर्व माओवादी केन्द्रका आफूलाई सहयोग गर्ने नेतालाई सभामुख बनाउन चाहेको स्रोतको भनाई छ ।
आजको छलफलबाट सभामुखका उम्मेदवारको टुंगो लगाएपछि त्यसलाई पार्टी सचिवालयको बैठकले अनुमोदन गर्नेछ ।
सभामुखका लागि पूर्व माओवादी केन्द्रका नेता अग्नि सापकोटा, पम्फा भुसाल र र जनार्दन शर्माको नाम चर्चामा छ । यस्तै देव गुरुङ हरिबोल गजुरेल, र टोपवहादुर रायमाझी पनि सम्भावित उम्मेदवार हुन् । लामो समयदेखि सभामुखको विषय टुंगो नलाग्दा प्रतिनिधिसभा बन्दक बनेको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई रानीनामा दिएर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरिसकेको छ । तर उनले आफूलाई सभामुख बनाउने निश्चित भएपछि मात्रै राजीनामा दिने अडान राख्दै आएकी छन् ।