देवघाटमा प्रहरीको भ्यान दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधनभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन ।
माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए
मुख्यमन्त्री गुरुङले बिहीबार जारी गरेको शोकवक्तव्यमा गाडी दुर्घटनामा परी प्रहरी जवान केसीको निधन र अन्य प्रहरी घाइते भएको खबरले आफूलाई दुःखित बनाएको उल्लेख छ । मृतक प्रहरी जवानको परिवारप्रति समवेदना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइते प्रहरीको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गरेका छन ।
घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । यसैगरी बिहीबार तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले दुर्घटनास्थलको निरीक्षण गरेका छन ।रासस